नेपाल प्रहरीमा सरुवा बढुवाको चलखेल बढ्यो



काठमाडौं : गृहसचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको अवधि सकिएर घर जादै गर्दा आफ्ना निकटका मान्छेलाई बढुवा र राम्रो ठाउँमा पोष्टिङ गर्नका लागि कसिएर लागेका छन् । घर जाने बेलामा टाउको नदुखाउने भन्दै बढुवा नगर्ने नीति लिएका आईजीपी खनालमाथि गृहसचिव राईले दबाब दिदा अहिले गृहमन्त्रालय र प्रहरी मुख्यालय यससम्बन्धि गृहकार्यमा जुटेको बताईन्छ ।

गहृसचिव राईले आफूनिकट रहेका प्रहरी मुख्यालय प्रशासन प्रमुखका रुपमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) चन्द्रकुवेर खापुङलाई बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बनाउन चर्को दबाब दिईरहेका छन् । खापुङलाई बढुवा गर्दा विवादमा तानिने संभावना रहेको भन्दै विवादित बन्न नचाहेका आईजीपी खनाल पछिल्लोपटक आफ्ना निकटहरुलाई गुन लगाउनेगरी बढुवा गर्न तयार भएका हुन ।

यससँगै नेपाल प्रहरीमा सरुवा बढुवाको चलखेल शुरु भएको छ । गृहमन्त्रालयले सरुवा बढुवाको गृहकार्य शुरु गरेसँगै प्रहरी मुख्यालयदेखि गृहमन्त्रालयसम्म चलखेल शुरु भएको गृहमन्त्रालय श्रोतले बताएको छ । गृहसचिव प्रेमकुमार राई विदेश भएका कारण रोकिएको प्रहरीको सरुवा बढुवा अघि बढाउने गृहकार्य सुरु भएको हो । उनी थाइल्याण्ड भ्रमणमा गएका थिए भने हिजो आइतबार फर्किएका छन् ।

यसअघि दरबन्दी थप सम्बन्धि मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरी प्रहरी मुख्यालयमा दरवन्दी पठाएको थियो । जसमा ३ हजार ५ सय ९६ नयाँ थप दरबन्दी पठाईएको थियो ।

नेपाल प्रहरीमा हाल जनपद र प्राविधिक गरी ७५ हजार ९ सय २७ जनाको दरबन्दी छ । तर, कार्यरत प्रहरीको संख्या ६४ हजार ३ सय २३ मात्रै छ । जुन संख्या पुरानो स्वीकृत दरबन्दीभन्दा ११ हजार ६०४ कम हो । नयाँ दरबन्दी थप भएसँगै प्रहरीमा कुल दरबन्दी ७९ हजार ५ सय २३ पुगेको छ । पुरानो दरबन्दीबाट समेत गरी अब नेपाल प्रहरीमा कुल १५ हजार २ सय दरबन्दी रिक्त हुन पुगेको छ ।

यस्तै ८६ जना प्रहरी नायब निरीक्षक (सई), २ सय ९७ जना प्रहरी सहायक निरीक्षक (असई), ६ सय ८३ जना प्रहरी हवल्दार, २ हाजार २ सय १६ जना प्रहरी जवान र ३ हजार ५ सय ९६ जना कार्यालय सहयागीको दरबन्दी थप भएको छ ।

थप गरिएको दरबन्दी जनपद र प्राविधिक दुवै गरेर हो । प्राविधिकतर्फ १ सय २९ जनाको दरबन्दी थपिएको छ । एसएसपी १, एसपी २, डीएसपी १२, इन्सपेक्टर २० लगायत गरी १२९ जनाको दरबन्दी थपिएको हो ।

यसरी दरबन्दी थपसँगै रिक्त रहेको विभिन्न पदमा बढुवा हुन र सरुवा हुनको लागि दौडधूप शुरु भएको हो । अहिले प्रहरी अधिकारीहरु बढुवा र आकर्षक पोष्टिङमा सरुवा हुनको लागि दौडधूपमा लागेको बताईन्छ । अहिले डिआईजी सहित दर्जनौ उच्च पद रिक्त रहेका छन् । आईजीपी खनाल सहित उच्च अधिकारीहरु अनिवार्य अवकाश पाउँदैछन् ।

आईजीपी खनालको अवकाश यही २८ गते हुँदैछ भने गृहसचिव राई २२ गते अवकाश पाउँदैछन् । बढुवासँगै सरुवाको समेत तयारी भइरहेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखामा सरुवा हुनका लागि चर्को दौडधूप शुरु भएको छ । त्यहाँको प्रमुख बन्नका लागि एसएसपीहरु श्याम ज्ञवाली, किरण बज्राचार्य, उमेश जोशी, दीपक थापा लगायत छन् ।

उता प्रहरी नायब महानिरीक्षक (डिआईजी)को एक पदमा बढुवाका लागि एसएसपीहरु बिरेन्द्र श्रेष्ठ ,घनश्याम अर्याल, गणेश ऐर, पुरुसोत्त्म कंडेल , प्रकाश जङग कार्की, वसन्त कुमार पन्त, ईश्वर बाबू कार्की, दिलिप कुमार चौधरी , राजेशलाल कर्ण, देब बहादुर बोहोरा, धिरज प्रताप सिंह , उत्तम्राज सुवेदी, वसन्त लामा, दिवस लोहनी, सौरभ राणा, रामकृपाल शाह, उमेश रन्जितकार, रबिन्द्र धानुक गरी १८ जनाले दौडधूप गरेका छन् ।

यस्तै रिक्त रहेको एसएसपीमा बढुवा हुनको लागि हालका एसपीहरु दौडधूपमा लागेका छन् । चार एसएसपी पदका लागि दुई दर्जन एसपीहरु दौडधुपमा लागिसकेका छन् । एसपीहरु विष्णुबहादुर केसी, दुर्गा सिंह, भरतबहादुर बोहरा, रवीन्द्र केसी, कुबेर कडायत, राजेशनाथ बाँस्तोला, सुदीप गिरी, जनक भट्टराई, केदार ढकाललगायत त्यसको प्रतिस्पर्धामा छन् । त्यस्तै अशोक सिंह, लालमणि आचार्य, नवराज भट्ट, राजेन्द्र विष्ट, उमाशंकर पन्जियार, किरण राणालगायत प्रतिस्पर्धामा छन् ।

त्यसैगरी रिक्त ८ एसपी पदमा बढुवा हुन दुईदर्जन डिएसपीहरु दौडधुपमा उत्रिएका छन् । डीएसपीहरु तुलबहादुर कार्की, राकेश सिंह, केदार खनाल, रामप्रकाश शाह, राजीवबहादुर बस्नेत र प्रवीणलाल श्रेष्ठ , ऋषिराम कँडेल, भुवनेश्वर तिवारी, वेद विष्ट, प्रभुप्रसाद ढकाल, शिवकुमार श्रेष्ठ, शान्तिराज कोइराला, अमरेन्द्र बहादुर सिंह, सुरेशप्रसाद काफ्ले, नकुल पोखरेल, प्रेमबहादुर बस्नेत, ज्ञानेश्वरप्रसाद फुँयाल, महेन्द्र खड्का, दीपक पोखरेल, सञ्जयसिंह थापा, राजकुमार सिलवाल, श्यामसिंह चौधरी, वासुदेव खतिवडा, होविन्द्र बोगटी, प्रकाश मल्ल, पदमबहादुर विष्ट, प्रवीण धिताल, दीपेन्द्र शाह, दीपेन्द्र शाही, महेन्द्रकुमार श्रेष्ठ, दयानिधि ज्ञवाली र राजेन्द्रबाबु रेग्मी लगायत एसपीका लागि प्रतिस्पर्धी छन् ।

प्रतिक्रिया दिनुहोस्