चिनी मिल मालिकलाई पक्रन उद्योग मन्त्रालयले गुहार्यो गृहलाई



काठमाडौं : कतिपय चिनी मिल संचालकहरुले सम्झौता भएअनुसार हिजो (मंगलवार) ७ गतेभित्र उखु किसानहरुलाई उखुको रकम भुक्तानी नगरी सम्पर्कविहिन बनेपछि उद्योग मन्त्रालयले ती संचालकहरुलाई पक्राउ गरी सम्पर्कमा ल्याईदिन अनुरोध गर्दै आज बुधबार अपरान्ह गृहमन्त्रालयलाई पत्राचार गरेको छ ।

मन्त्रीस्तरीय निर्णय गरेर कतिपय चिनी मिल मालिकलाई खोजतलास गरी सम्पर्कमा ल्याईदिन अनुरोध गर्दै आज गृहमन्त्राललाई पत्रचार गरेको मन्त्रालयका सहसचिव ध्रुव घिमिरेले जानकारी दिएका छन् । मन्त्रालयका अनुसार सबैभन्दा बढी समस्या देखिएका र सम्पर्कमा नरहेका अन्नपूर्ण, ईन्दिरा, महालक्ष्मी, बागमती, श्रीराम र लुम्वीनी चिनी मिलका संचालकहरुलाई पक्राउ गरी उद्योग मन्त्रालयमा उपस्थित गराउन यसरी पत्राचार गरिएको हो ।

महालक्ष्मी चिनी मिलका संचालक कांग्रेसका नेता एवं र्सांसद विरेन्द्र कनौरिया हुन भने अन्नपूर्ण र ईन्द्रेणीका मालिक राकेश अग्रवाल रहेका छन् । जो मन्त्रालयको सम्पर्क बाहिर रहेको बताईन्छ । त्यस्तै उद्योग मन्त्रालयले अन्नपूर्ण चिनी मिलले उखु किसानहरुलाई भुक्तानी गर्ने रकमका सम्बन्धमा उर्जा मन्त्रालयमार्फ विद्युत प्राधिकरण र श्रीराम चिनी मिलले भुक्तानी गर्नुपर्ने रकम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आवश्यक समन्वय गर्न पत्राचार गरेको छ ।

उता गएको पुस १८ गते सरकार र उखु किसानहरुबीच भएको सम्झौता अनुसार हिजो माघ ७ गतेभित्र उखु किसानहरुको भुक्तानी गरिसक्नुपर्ने थियो । तर किसानहरुले भुक्तानी नपाएको उखु उत्पादक संघका अध्यक्ष कपिल मैनालीले बताएका छन् । मन्त्रालयले भने आंशिक रुपमा भुक्तानी भईरहेको बताएको छ । त्यस्तै उद्योग मन्त्रालयका सहसचिव घिमिरेले उखु किसानहरुलाई अनुदानबाट सरकारले उपलब्ध गराउने एक अर्ब ९ करोड रुपैयाँमध्ये ७१ करोड रुपैयाँ सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निकासा गरिसकेको बताएका छन् । बाँकी रकम पनि आवश्यक प्रकृया पुर्याएर निकासा दिने बताए ।

सरकार र उखु किसानबीच गएको पुस १८ गते भएको सहमति अनुसार चिनी उद्योगीले दिनुपर्ने एक अर्ब २० करोड भुक्तानी दिन बाँकी छ । समितिका अनुसार उखु किसानले उद्योगबाट पाउनुपर्ने एक अर्ब २० करोडमध्ये अहिलेसम्म जम्मा १५ करोड रुपैयाँमात्र भुक्तानी पाएका छन् ।

उखु किसान संघर्ष समितिले शुक्रबार तिनै तहको सरकारसँग छलफल गर्ने जनाएको छ ।
भुक्तानी नदिनेमा सर्लाहीको बागदहमा रहेको महालक्ष्मी सुगर मिलले १० करोड, अन्नपूर्ण सुगर मिल धनकौलले ३५ करोड, श्रीराम सुगर मिल रौतहटले ४२ करोड र नवलपरासीको इन्दिरा सुगर मिलले ९ करोड रुपैयाँ रहेको छ ।

अहिलेसम्म महालक्ष्मी सुगर मिल बगदहले ११ करोड ५० लाख, अन्नपूर्ण सुगर मिल धनकौलले ३ करोड ९० लाख र इन्दिरा सुगर मिल नवलपरासीले ७४ लाख रुपैयाँ रकम भुक्तानी गरेका छन् ।

उखु किसानहरुले आफूले वाषर््ैदेखि उखुको मूल्य नपाएपछि दुई साताभन्दा बढी राजधानीमा आन्दोलन गरेपछि चिनी उद्योगीले माघ ७ गतेसम्म सबै रकम भुक्तान गर्ने सहमति गरेका थिए । तर समयसिमा घर्किसक्दा पनि चिनी उद्योगले भनेअनुसार नगरेपछि उद्योग मन्त्रालयले उनीहरुलाई पक्राउपुर्जी जारी गर्नको लागि गृहलाई पत्र पठाएको हो ।

सहमतिअनुसार केही उद्योगीले बक्यौताको थोरै रकम दिए । तर, उनीहरूले निधारित समय काटिसक्दा पनि भुक्तानी दिन सकेनन् । उनीहरूले चिनी उद्योगबाट थप अझै ९९ करोड ५१ लाख बक्यौता पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्