समायोजनका लागि आवेदकको सङ्ख्या वृद्धि



काठमाडौं : कर्मचारी समायोजनको मिति सकिन लाग्दा समायोजनको फारम भर्नेको सङ्ख्या बढेको छ । 

पहिले दैनिक चार हजारको सङ्ख्यामा फारम भर्नेमा अहिले दैनिक आठ हजारसम्म कर्मचारीले फाराम भर्ने गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन शाखाका उपसचिव अनिता निरौलाले जानकारी दिइन् ।  

उनका अनुसार बिहीबारबाट सङ्घ, प्रदेश र स्थानीय तीनै तहमा फाराम भर्नेको सङ्ख्यामा दोब्वर वृद्धि भएको छ । ‘समायोजनको लागि फारम भर्न अब पाँच दिनमात्र बाँकी रहेको छ’’ उनले भनिन्, ‘‘त्यसैले अहिले फारम भर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।’’ 

अहिलेसम्म करीब ३६ हजार ९६७ कर्मचारीले समायोजन रोजिसकेका छन् भने करीब ५६ हजार ५०० कर्मचारीले समायोजनका लागि अनलाइन फारम अभिलेखन गरिसकेका छन् । 

मन्त्रालयले यही पुस ११ गते कर्मचारीलाई २१ दिने सूचना निकाल्दै समायोजनको लागि अनलाइन आवेदन फाराम भर्न आह्वान गरेको थियो । 

सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ । 

प्रतिक्रिया दिनुहोस्