वाग्मती प्रदेशमा शुक्रबार सार्वजनिक बिदा



काठमाडौं : वाग्मती प्रदेश सरकारले यही माघ १० गते प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ ।

तामाङ समुदायको चाड सोनाम ल्होसारका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको वाग्मती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सूचना जारी गर्दै प्रदेश सरकारको गत पुस २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार सो दिन सार्वजनिक बिदा दिइएको जनाएको छ ।

प्रदेश सरकारले बिदा घोषणा गरेकाले प्रदेशभर छुट्टी हुने वाग्मती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले जानकारी दिए ।

काठमाडौँ उपत्यकाका हकमा भने केन्द्र सरकारको राजपत्रानुसार हुने उनले बताए ।

गृह मन्त्रालयले गत वैशाखमा प्रकाशन गरेको राजपत्रानुसार प्रदेश सरकारले बिदा दिँदा आफ्नो प्रदेशभित्रका केन्द्र मातहतका कार्यालयसहित सम्पूर्ण सरकारी कार्यालय, शिक्षालय, उद्योगधन्दा बन्द रहनेछन् ।

केन्द्र सरकारले प्रदेश सरकारलाई बढीमा एक वर्षमा ६ दिन बिदा दिन पाउने अख्तियारी दिएको छ । सोही अख्तियारी अनुसार प्रदेश सरकारले आफ्नो प्रदेशका महत्वपूर्ण धार्मिक, जातीय र सांस्कृतिक चाडपर्व अदिमा आवश्यकता हेरी बढीमा ६ दिनसम्म बिदा दिन पाउने व्यवस्था छ । छ दिनभन्दा बढी बिदामा भने केन्द्र मातहतका कार्यालयलाई गृह मन्त्रालयको निर्णय लागु हुनेछ ।

राजपत्रानुसार काठमाडौँ उपत्यकाका तीन जिल्लाका केन्द्र मातहतका कार्यालयलाई भने प्रदेश सरकारको बिदा लागू हुने छैन । उक्त राजपत्रको खण्ड गमा काठमाडौँ उपत्यकाका तीन जिल्लामा प्रदेश सरकारले दिएको बिदा नेपाल सरकार, गृह मन्त्रालयको निर्णय अनुसार हुनेछ भनी उल्लेख गरिएको छ । –रासस

प्रतिक्रिया दिनुहोस्