१०० किलो सुनको सिक्का चोरीबारेको मुद्दामा सुनुवाई



बर्लिन: जर्मनीमा राजधानी बर्लिनस्थित एउटा संग्रहालयबाट सन् २०१७ मा सुनको सिक्का चोरी भएको घटनाका सम्बन्धमा चार जनाविरुद्ध चलिरहेको मुद्दाको सुनुवाई प्रारम्भ भएको छ ।

एक सय किलो तौल भएको र २४ क्यारेट शुद्धताको क्यानेडेली सिक्काको तत्कालीन मूल्य ४३ लाख डलर रहेको थियो । अपराध अनुसन्धानकर्ताहरूले अझैसम्म पनि सो सुनको सिक्का फेला पार्न सकेका छैनन् । सिक्कालाई काटेर टुक्रा पारेर या पगालेर बेचेको हुनसक्ने अनुमान छ । सो सिक्का क्यानडाको सरकारी टक्सारले टकमरी गरेका पाँचवटा सिक्कामध्ये एक थियो ।

त्यो सिक्का एकजना अज्ञात दाताले बर्लिनस्थित सो संग्रहालयलाई दान दिएका थिए ।सरकारी अभियोजनकर्ताहरूका अनुसार चार अभियुक्तमध्ये तीन जना एकअर्काका नातेदार भएका र संंगठित अपराधमा सम्बन्ध भएको भनिएको लेबनानी बर्लिन परिवारका सदस्य छन् ।

तिनीहरूले गोली नछिर्ने सिसा फुटाएर त्यसको पछाडि राखिएको सो सिक्का चोरी गरी एकपांग्रे ठेला र स्केट बोर्डको मद्दतले त्यसलाई गुडाएर बाहिर निकालेका हुनुपर्ने अनुमान गरिएको छ ।चौथो अभियुक्त संग्रहालयमा सुरक्षाकर्मीका रूपमा कार्यरत थिए । उनले सिक्का राखिएको ठाउँ र त्यससँग सम्बन्धित सुरक्षा व्यवस्थाबारे चोरहरूलाई जानकारी उपलब्ध गराएका हुनसक्ने अनुमान गरिएको छ ।

दोषी ठहरिएमा उनीहरूलाई १० वर्षसम्म जेल सजाय हुनसक्छ । आगामी मार्च महिनाको २८ तारिखमा मुद्दाको फैसला हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्