१७ महिनामै सम्बन्धविच्छेद



काठमाडौं : एकता भएको १७ महिनामै विवेकशील साझा पार्टी दुई चिरा परेको छ। विवेकशील नेपाली दललाई निरन्तरता दिन भन्दै उज्वल थापा पक्षले शुक्रबार निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताको निवेदन दिएको हो।

थापाले पार्टी नेतृत्वबाट निषेधको राजनीति भएको आरोप लगाएका छन्। ‘हामी उदाहरणीय बन्न चाहन्छौं, जुन काम विवेकशील साझामा रहेर सम्भव हुन सकेन,’ अन्नपूर्णसँग थापाले भने। उनकै नेतृत्वको विवेकशील नेपाली दल र पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी डेढ वर्षअघि एक भएका थिए।

पार्टीमा रहेका तीनजना प्रदेशसभा सदस्यमा विराजभक्त श्रेष्ठ र रमेश पौड्याल थापा पक्षमा लागेका छन् भने शोभा शाक्य मिश्रसँगै छिन्। छुट्टिने अन्य केन्द्रीय सदस्यमा रन्जु न्यौपाने, साधना राई, सुबुना बस्नेत, अजिता राई, अनुसा थापा, शशिविक्रम कार्की, ज्ञानेन्द्र निरौला, पुकार बम, आशुतोष तियारी अर्जुनसिंह ठकुरी छन्।

प्रवक्ता सूर्यराज अचार्यले थापा पक्ष छुट्टिएको खबरबाट आफू आश्चर्यमा परेको बताए। ‘पार्टीका केही नेताको यस्तो कार्यले वैकल्पिक पार्टी निर्माणको पवित्र उद्देश्यमा घात मात्र भएको छैन, पार्टी निर्माणमा लामो समयदेखि क्रियाशील युवाहरु र मतदाताप्रति पनि अन्याय भएको छ,’ आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उहाँहरूले वैकिल्पक पार्टी निर्माणको अभियानमा पु¥याउनुभएको आघात र धोकापूर्ण कार्यको इतिहासले मूल्यांकन गर्ने नै छ।’

थापाले भने टपक्क टिपेर नयाँ मान्छेलाई नेता बनाउने र भएका राम्रा मान्छेलाई रोक्न नसक्ने प्रवृत्तिले वैकिल्पक पार्टी बन्ने लक्षण नदेखिएको बताए। ‘विभिन्न कमजोरीका बाबजुद पनि आत्मआलोचना नगरेपछि कसरी वैकल्पिक पार्टी हुन्छ? ’ थापाले प्रश्न गरे।

पार्टी फुटेको नभई असन्तुष्ट समूह अलग्गिएर निर्वाचन आयोगमा गएको अर्का केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले बताए। ‘पार्टीका दुई अध्यक्षमध्ये एकले केन्द्रीय समिति बैठकमा नै नबसेर यस्तो घोषणा गर्नु सुसंस्कृत राजनीतिक प्रवृत्ति होइन,’ उनले भने, ‘पार्टीभित्र छलफल गरेर छुट्टिन सकिन्थ्यो तर उहाँले त्यसो गर्नु भएन, उहाँहरू सिधै निर्वाचन आयोग जानुभयो।’

वैकल्पिक राजनीतिक दल भएको दाबी गर्ने विवेकशील साझामा केही समयदेखि आन्तरिक विवाद चुलिएको थियो। ७ पुसमा पार्टी संयोजक उज्वल थापाले असन्तुष्टिसहितको प्रतिवेदन सार्वजनिक गरेका थिए। थापाद्वारा सार्वजनिक प्रतिवेदनमा छलफल गर्न २५ गते केन्द्रीय समिति बैठक डाकियो। बैठकमा प्रतिवेदनमाथि सुनुवाइ नभएको विभाजित भएका केन्द्रीय सदस्यहरूले गुनासो गरेका छन्।

‘पार्टीको केन्द्रीय समितिले केन्द्रीय सदस्य थप्नेलगायतका तयारी गर्न थाल्यो तर प्रतिवेदनमाथि कुनै बहस गर्न चाहेन,’ केन्द्रीय सदस्य मिलन पाण्डेले भने, ‘अन्ततः हामीले छुट्टिने निर्णय गर्यौं।’ पार्टी परम्परागत राजनीतिक धारमा गएको र यस्तो तरिकाले सुसंस्कृत राजनीति हुन नसक्ने पाण्डेले बताए।

२०७४ साउन ११ गते दुई पार्टी एक भएका थिए। विवेकशीलका अध्यक्ष थापा र साझा पार्टीका संयोजक मि श्र एकीकृत पार्टीमा सहसंयोजक रहेका थिए। पछि दुवैलाई संयोजक बनाइयो। पार्टी एकताका बेला ३४ जनाको केन्द्रीय कार्यसमिति रहने र महाधिवेशनसम्म ५९ जना केन्द्रीय सदस्य बनाइने दुवै दलबीच सहमति थियो। महाधिवेशनअगावै पार्टीमा विभाजन आएको अन्नपुर्णमा खवर छ । 

प्रतिक्रिया दिनुहोस्