नेविसंघ विघटनको संघारमा: आठ पदाधिकारीले दिए सामूहिक राजीनामा



काठमाडौँ: नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन अनिश्चित भएसँगै आठ पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । संघका अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै उनीहरुले शुक्रबार पार्टी सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन् ।

राजीनामा बुझाउनेमा उपाध्यक्षहरु पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र अच्युतराज कलौनी रहेका छन् । वर्तमान कार्यसमितिले १२औं महाधिवेशन गर्न नसक्ने देखिएपछि निकास दिन राजीनामा गरिएको असन्तुष्ट नेताहरुले जानकारी दिएका छन् ।

नेविसंघको १२औं महाधिवेशन अनिश्चित भएपछि विघटनको संघारमा पुगेको छ । गत भदौमा म्याद सकिएको नेविसंघ केन्द्रीय समितिको महाधिवेशन गर्नका लागि भनी कांग्रेसले पटकपटक म्याद थप्दै आएको छ ।

विधानलाई लत्याउँदै पटकपटक म्याद थप गर्दा समेत १४ जिल्लाको भन्दा बढी अधिवेशन गर्न नसकेपछि नेविसंघ केन्द्रीय समिति स्वतः विघटनको संघारमा पुगेको हो । महाधिवेशनका लागि सभापति शेरवहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको जुहारी नै चलेको थियो । विना तयारी र विधानविपरीत नेविसंघको म्याद थप्दै जानु विधानविपरीत मात्र नभई लोकतान्त्रिक प्रक्रिया माथिको प्रहारको रुपमा रहेको पौडेल पक्षले ठहर गरेको नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्