उद्योग सचिवका कारण मन्त्रीलाई तनाव



काठमाडौं : सरकारी उच्च निकायमा बसेका मानिसहरु उपभोक्ताको हितको लागि काम गर्नुपर्नेमा उल्टै उपभोक्ता ठग्ने काममा लागेपछि के होला ? उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका हाकिमहरुको बदमासी अहिले बाहिर आएको छ ।

मन्त्रालयकी सचिव यामकुमारी खतिवडाको यस्तो कर्तुत बाहिर आएपछि मन्त्री लेखराज भट्ट सचिव खतिवडासँग रिसाएका छन् । मन्त्री भट्ट नरिसाउन पनि कसरी ? औद्योगिक क्षेत्रको विकासमा लाग्नुपर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव आफैँ फस्टाउने उद्योगमा लागेपछि मन्त्रालय परिसरमा हंगामा मच्चिएको छ ।

सचिव खतिवडाकै कारण अहिले उद्योग मन्त्रालय बद्नाम बन्दै गइरहेको भन्दै त्यसलाई सच्याउन मन्त्रीलाई बाह्य दवाव पनि पर्ने गरेको श्रोतको दाबी छ । सचिव खतिवडाले सिमेण्ट उद्योगको डिजाइनमा उपभोक्ता ठग्ने गरी मन्त्रालयबाट निर्णय गराएको कुरा बाहिर आएपछि यसले मन्त्रीलाई समेत तनावमा पारेको छ ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाकी श्रीमती समेत रहेकी खतिवडाको कार्यक्षमता कमजोर कार्यशैली कार्यक्षमताका कारण उद्योगभित्र रहेको अन्य सहसचिवहरु हैरानीमा परेको कुरा पनि बाहिर आएको । अरु सचिवहरु पटक–पटक सरुवा हुँदा पनि खतिवडा उद्योगमै जरा गाडेर बसेकी छन् । उनी साढे दुई वर्षदेखि त्यही मन्त्रालयमा कार्यरत रहेकी छन् ।

सिमेण्टको गुणस्तर कम गराउने गरी त्यसबेला सहमति भएको थियो । त्यो मात्रृका यादव मन्त्री हुँदाताकाको कुरा हो । तर, अहिले यो विषयमा संसदको सार्वजनिक लेखा समितिले अड्काउन थापेपछि यसले झन प्रश्रय पाएको बताइन्छ । त्यसबेला खतिवडा र गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले उद्योगीहरुसँगको मिलेमतोमा त्यस्तो निर्णय गराएका थिए । सिमेण्ट उद्योगीको आर्थिक चलखेलमा मापदण्ड परिवर्तन गर्ने खेल भएको र त्यसबाट उपभोक्ता कमसल सिमेण्ट प्रयोग गर्नुपर्ने मारमा परेका काराण यो कुरालाई जोडतोडका साथ उठाइएको लेखा समितिका सदस्यहरु बताउँछन् ।

यसरी सचिवको कार्यशैलीप्रति असन्तुष्ट रहेका मन्त्री भट्ट सचिव फेर्ने पक्षमा देखिएका छन् । उनी प्रधानमन्त्रीको ग्रिन सिग्नलको पर्खाइमा रहेको मन्त्री निकट श्रोतको दाबी छ ।

उता ०५५ जेठ ५ गते ओपिसी सिमेण्टको गुणस्तर कायम गरिएको थियो । निर्धारण समितिले विभागले पठाएको विवरण अध्ययनका क्रममा यसअघि सिमेण्टमा अघुल्य पदार्थ २ प्रतिशत हुनेमा अहिले बढाएर ४ प्रतिशत पुयाइएको छ ।

त्यस्तै, सिमेण्टमा हुने अर्को तत्व म्याग्नेसिया यसअघि पाँच प्रतिशत रहेकोमा अहिले ६ प्रतिशत पु-याइएको छ । यसरी मापदण्ड फेरेर उद्योगलाई कमसल सिमेण्ट उत्पादन गर्न दिएको पाइएपछि लेखा समितिले रसायनविद्हरु झिकाएर छानवीन शुरु गरिसकेको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस्