विवादित भू–भागबारे छलफल गर्न जापानी विदेशमन्त्रीकाे रुस भ्रमण



मस्को: जापानका विदेशमन्त्री तारो कोनो अर्को साता रुसको भ्रमणमा आउने भएका छन्। रुसी समकक्षी सेर्गेइ लाभरोभसँग उनले विवादित ४ भू–भागको बारेमा छलफल गर्ने रुसको विदेश मन्त्रालयले शुक्रबार जनाएको छ। रूस र जापानका बीचमा दोस्रो विश्वयुद्धपछि अहिलेसम्म पनि कुनै शान्ति सम्झौता हुन सकेको छैन।

सिमानामा पर्ने कुरिल्सलाई रूसले आफ्नो क्षेत्रमा पर्ने भू–भागको रुपमा दाबी गर्दै आएको छ भने जापानले पनि आफ्नो उत्तरी राज्य भएको बताउँदै आएको छ। रूसको विदेश मन्त्रालयका प्रवक्ता मारिज जाखारोभले भने, ‘पहिलो चरणमा रुस र जापानका बीचमा रहेका समस्या समाधान गर्न शान्ति सम्झौता गर्ने बारेमा छलफल हुनेछ।’

उनीहरूका बीचमा आउँदो सोमबार छलफल हुनसक्ने पनि प्रवक्ता जाखारोभले बताए। उनले दुई देशका बीचमा हुन लागेको सम्झौताका बारेमा जापानी सञ्चार माध्यमहरूले गलत भूमिका खेलेको आरोप पनि लगाए।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र जापानी प्रधानमन्त्री सिन्जो आवेबीच गत नोभेम्बरमा भेटवार्ता भएको थियो। सो भेटका क्रममा उनीहरुले दोस्रो विश्वयुद्धका विवादहरुलाई अन्त्य गर्न औपचारिक रुपमा छलफल गर्ने र सन् १९५६ मा भएको संयुक्त घोषणापत्रमा टेकेर सम्झौताको प्रक्रियालाई अगाडि बढाउने सहमति गरेका थिए।

प्रतिक्रिया दिनुहोस्