बल्ने ढुङ्गा किन्न गएका गुरुङको ५० लाख लुटियो



काठमाडौं : ‘बल्ने ढुङ्गा’को लोभमा एक जना व्यक्तिको ५० लाख लुटिएको छ । साथीहरुले ‘बल्ने ढुंगा’ बेच्ने ग्राहक भेटिएको भन्दै किन्नका लागि ५० लाख बाकेर काठमाडौंको काभ्रेस्थली जंगलमा पुगेका पुर्व सैनिक समेत रहेका बच्चुराम गुरुङ लुटिएका छन् । उनी गत शुक्रबार लुटिएको प्रहरीले जनाएको छ ।

नेपाली सेनाका अवकाश प्राप्त सुबेदार गुरुङ जग्गा प्लटिङको काम गर्छन । उनलाई साथीहरुले ‘बल्ने ढुंगा बेच्ने मान्छे भेटेका छौं, मिलेर त्यो किनौं पछि करोडौंमा विक्री हुन्छ’ भनेपछि उनी ५० लाख रुपैयाँ बोकेर जंगलमा पुगेका थिए ।

आफू लुटिएको सूचना उनले महानगरीय अपराध महाशाखा काठमाडौंमा दिए ।लुटपाटमा संलग्न ६ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुलबहादुर थापाले पुष्टि गरेका छन् ।

बल्ने ढुंगा किन्न जाँदा पैसा लुटिएका बच्चुरामले जग्गा बैना गर्न बोलाएर आफूलाई सो समूहले लुटेको प्रहरीलाई बताएका छन् । लुटपाटमा संलग्न ६ जना पनि जग्गा प्लटिङ ब्यवसायमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकाहरुबाट अपराध महाशाखाको टोलीले १९ लाख रुपैयाँ नगद र दुईओटा मोटरसाईकल बरामद गरेको छ । बच्चुरामलाई लुटेपछी उनीहरुले नयाँ मोटर साईकल खरिद गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्