सम्पत्तिको लागि कान्छी आमाको हत्या गर्ने भारतीय भएको खुलासा



वीरगन्ज : सम्पत्ति हडप्न आफ्नै कान्छी आमाको हत्या गरेका भारत बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी चम्पापुर थाना रामगढवाका भैयाराम ठाकुर हजामले झुठो विवरण पेश गरी जन्मको आधारमा सह–परिवार पर्सा जिल्लाबाट नेपाली नागरिकता हासिल गरेको रहस्य खुलेको छ ।

भैयाराम र उनका छोरा नरेश ठाकुर हजामले योजनाबद्ध रुपमा सन् १९९५ जुलाई २३ तारिख अर्थात् २०५२ असोज ९ गते आफ्नै कान्छी आमा सहोदरा देवी दासको गोली हानी हत्या गरेका थिए ।

सहोदरा देवीको नाममा नेपालको पर्सा जिल्ला वीरगन्ज महानगरपालिका वडा नम्बर–२५ खाल्वाटोला श्रीसियामा रहेको करिब ५ विघा जग्गा हडप्न उनको हत्या गरिएको भारतीय प्रहरीले तयार गरेको चार्ज सिटमा समेत उल्लेख गरिएको छ ।

दासको हत्यापश्चात नेपालमा उनको नाममा रहेको करोडौं मुल्य पर्ने जग्गा हत्याउँन भैयाराम झुठो विवरण पेश गरी जन्मको आधारमा सहपरिवार नेपाली नागरिकता लिन सफल भएका हुन् । देशभक्त नेपालीले हजामद्धय विरुद्ध कारवाही गर्न जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गराएपछि उनी भारतीय नागरिक र आफ्नै कान्छी आमाको हत्यारा भएको खुलेको हो ।

भैयारामका पिता जगदेव ठाकुर हजामको दुई पत्नीमा जेठी लक्ष्मी देवी हजाम र कान्छी सहोदरा देवी हुन् । जगदेव र जेठी पत्नी लक्ष्मी देवीको दाम्पत्य जिवनबाट एकमात्र छोरा भैयाराम ठाकुर हजाम हुन् । जगदेवको कान्छी श्रीमती सहोदरा देवीको दाम्पत्य जिवनबाट कुनै सन्तानको जायजन्म भएन ।

जगदेवको आफ्नो पैतृक घर भारत बिहारको जिल्ला मोतिहारी चम्पापुर थाना रामगढवामा मृत्यु पश्चात पारिवारिक कलहले सहोदरा देवी बाध्य भई साधु बनिन् र चम्पापुरमा रहेको मठमा बस्दै आएको जाहेरीमा उल्लेख गरिएको छ ।

कान्छी आमाको पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २५ खाल्वाटोला श्रीसियामा रहेको ५ विघा जग्गा आफनो नाममा गराउँन भैयाराम र उनका छोरा नरेशले हक हस्तान्तरण गर्न बारम्बार दबाब दिई रहेका थिए । उनीहरुले उनको जग्गा हत्याउँन बारम्बार बनाएको योजना समेत असफल भएपछि उनको हत्या गर्ने योजना बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्