यी हुन् विहे नगर्ने चर्चित नेताहरु



काठमाडौं : जीवन बिताउन विवाह अनिवार्य छ भनिन्छ । वंश, परम्परा धान्न पनि विवाह गर्नैपर्छ भन्ने सामाजिक मान्यता छ । त्यसैगरी शारीरिक आवश्यकता पूरा गर्ने वैधानिक मान्यता पनि विवाहलाई नै मानिन्छ । तर, विवाह नगरेर जीवन बिताउनेहरु पनि नेपाली समाजमा धेरै छन् । यसमध्ये केही राजनीतिज्ञहरुको चर्चा गर्न खोजिएको छ जो अविवाहित छन् ।

नारायणकाजी श्रेष्ठ
पूर्व ए माओवादी उपाध्यक्ष एवंम वर्तमान नेकपाका प्रवक्ता नाराणकाजी श्रेष्ठ धेरै पटक मन्त्री भइसकेका छन् । उनले अहिलेसम्म विवाह नगरी बसेका छन् । १७ वर्षकै उमेरमा कसैको प्रेममा परेका श्रेष्ठ त्यतिबेलै विवाह गर्ने मनस्थितिमा थिए । तर, सोँचेजस्तो नभएपछि उनको विवाह नै भएन । अहिले उनलाई विवाह अनिवार्य छ जस्तो लाग्दैन् । आफू विवाह नगरेर ठिकै गरे जस्तो अनुभव सुनाउँछन्, श्रेष्ठ । माक्र्सले आफूले विवाह गरेर गल्ती गरेको भनेका छन् त्यसैले आफूले चाँहि ठिकै गरे जस्तो लाग्ने उनी बताउँछन् । उनी ६० वर्षका भएका छन् ।

गिरिराजमणि पोख्रेल
पूर्व ए माओवादी नेता एवंम वर्तमान सरकारका शिक्षामन्त्री गिरिराजमणि पोख्रेल पनि अविवाहित नेता हुन् । उनले पनि अब विवाह नगर्ने बताइसेका छन् । समयमै विवाह गरेको भए आफ्नो पनि राम्रैसँग घरजम भइसक्थ्यो भन्नेमा चाँही उनलाई कहिले काँही पछुतो लाग्छ । एकपटक उनी गम्भिर दुर्घटनामा परे उनी ८६ दिन अस्पतालमा बसे । दिसापिसाब पनि अरुकै साहारामा गर्नुपर्ने अवस्थामा पुग्दा उनले अस्पतालमै रहेका अरु बिरामीका परिवारले उनीहरुलाई गरेको सहयोग देखिरहेका थिए त्यतिबेला आफ्नो पनि परिवार भएको भए हुन्थ्यो जस्तो उनलाई नलागेको भने होइन् । तर, अन्य आफन्त साथीभाई तथा कार्यकर्ताले उनलाई परिवारले गरेजस्तै सहयोग गरे ।

पम्फा भुसाल
पम्फा भुसाल नेपाली राजनीतिक वृत्तमा परिचित र चर्चित नाम हो । तत्कालिन माओवादी केन्द्रकी चर्चित नेत्री तथा प्रवक्ता समेत रहेकी भुसाल अविवाहित महिला नेतृ हुन् । वि.सं. २०१९ साउन ४ गते अर्घाखाँचीमा जन्मेकी उनी २०३७ सालदेखि राजनीतिमा सक्रिय छन् । नेतृ भुसाल २०५१ सालमा संयुक्त जनमोर्चा नेपालको अध्यक्ष्यसमेत बनेकी थिइन् । नेपालमा पार्टीको अध्यक्ष्य बन्ने पहिलो महिला नै पम्फा भुसाल हुन् । उनी हाल ललितपुरको ३ नम्बर क्षेत्रबाट नेकपाकी सांसद भएकी छन् । उनले राजनीतिक उतारचढावहरु भोगेपनि विवाह भने गरिनन् । अहिले उनी ५७ वर्षकी भइन् ।

शेरधन राई
शेरधन राई कुशल राजनीतिज्ञ मानिन्छन् । हाल उनी प्रदेश नम्बर १ को मुख्यमन्त्री रहेका छन् । भोजपुर क्षेत्र नम्बर १ ख बाट प्रदेश सभामा निर्वाचित उनी २०७४ माघ २ गते १ नम्बर प्रदेशको मुख्यमन्त्री निर्वाचित भएका थिए । उनी तत्कालिन एमालेबाट विजय भएका थिए । राईको जन्म वि.सं. २०२७ साल फागुन ११ गते भोजपुरमा भएको हो । हालसम्म अविवाहित रहेका उनलाई पटकपटक विवाहको प्रस्ताव आयो । उनकै पार्टीले पनि उनलाई विवाहको लागि अनुरोध गर्यो । तर, उनले मानेका छैनन् । अहिले उनी ४९ वर्षका पुगे ।

विन्दा पाण्डे
लामो समय तत्कालिन एमालेको झण्डामुनि बसेर राजनीति गरेकी सांसद विन्दा पाण्डे हालसम्म अविवाहित छन् । एमालेको पोलिटब्यूरो सदस्यसमेत रहेकी उनी विवाह गर्नुलाई अनिवार्य मान्दिनन् । उनी अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको गभर्निगं बडी डेप्यूटि मेम्बरमा समेत निर्वाचित भएकी छन् । सो पदमा उनी तेस्रो पटक निर्वाचित भएकी हुन् । आइएलओको जेनेभामा भएको सम्मेलनमा पाण्डे निर्वाचित भएकी थिइन् । यसैगरी विभिन्न राष्ट्रिय दैनिक पत्रिका र अनलाइनहरुमा लेखहरु प्रकाशित गराउँदै आएकी उनी लामो समयदेखि महिला हकहित तथा मजदुरहरुको विषयमा आवाज उठाउँदै आएकी छन् । उनी हाल ५३ वर्षकी भइन् ।

रामहरि खतिवडा
नेपाली कांग्रेसमा युवा नेताको परिचय बनाएका रामहरि खतिवडा पनि अविवाहित छन् । ओखलढुङ्गाका खतिवडा पछिल्लो निर्वाचनमा जिल्लाबाट पराजित भए र पार्टीको केन्द्रीय सदस्यमासमेत पराजित भए । यति भएर पनि उनको चर्चा राष्ट्रिय राजनीतिमा हुने गर्छ । रामहरि कांग्रेसका तत्कालिन पार्टी सभापति कृष्णप्रसाद भट्टराईको संगतबाट राजनीतिमा लागेका हुन् । राजनीतिमा मात्र होइन् विवाहको सवालमा पनि उनै भट्टराईको संगतबाट प्रभाव भएको ठट्टा गर्छन् उनका निकटस्थहरु । उनी हाल ४८ वर्षका भए ।

फर्मुल्लाह मन्सुर
पूर्व श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मन्सुर नेपाली कांग्रेसका सक्रिय नेता हुन् । मन्सुरले राजनीति गरी सांसद भई मन्त्री बने तरपनि सम्पत्ति जोडेका छैनन् । घर ठड्याएका छैनन् किनभने उनको योजना नै सकुन्जेल राजनीति गर्ने नसकेका दिनदेखि वृद्धाश्रममा गएर बस्ने रहेको छ । त्यसैले नीजि घरजग्गा जोड्नुका सट्टा उनी वृद्धाश्रम बनाइरहेका छन् । जहाँ राजनीतिक जीवनपछि अरु वृद्धवृद्धासँगै बस्ने उनको योजना छ । मुस्लिम समुदायमा जन्मेका मन्सुरले प्रजातन्त्र र कांग्रेसबारे सुनेकोपनि २०१७ सालमा हो । त्यसयता उनी सक्रिय राजनीतिमा छन् । तर, जीवनमा कहिल्यै विवाह नगर्ने उनको सोँच यतिखेर आएर पुरा भएको छ । उनी ६६ वर्षका भए ।

अम्बिका बस्नेत
तत्कालिन देउवा नेतृत्वको सरकारमा नेपाली कांग्रेसकी सांसद अम्बिका बस्नेतले सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् । पटकपटक राजनीतिक बन्दीको रुपमा जेल जीवन बिताएकी बस्नेतले नोना कोइराला नेतृत्वमा रहेको महिला विभागमा समेत रहेर काम गरेकी थिइन् । कोइराला परिवारको संगतमा राजनीतिमा प्रवेश गरेकी बस्नेतको जन्म काठमाडौंमा भएको हो । उनी अझै अविवाहित छन् । २०५६ सालको संसदिय चुनावमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीसँग पराजित भएकी थिइन् । पार्टीको १२औँ र १३औँ महाधिवेसनमा केन्द्रीय सदस्यमा निर्वाचित बस्नेत संविधान सभा निर्वाचत २०६४ र ७० मा सभासद भइन् । उनी ६९ वर्षकी भइन् ।

जयन्ती राई
नेपाल कम्युनिष्ट नेकपाकी केन्द्रीय सदस्य जयन्ती राई पनि अविवाहित छन् । उनले त यतिसम्म गरिन् कि पटकपटक बुवाले टुगों लगाइदिएको विहे पनि खारेज गरिन् । उनलाई आफ्नो पार्टीले पनि धेरै पटक विवाह गराइदिने प्रयास गर्यो । तर, त्यो प्रयास सफल हुन सकेन् । विवाह गर्नुपर्छ भन्ने सोँच उनको दिमागमा कहिल्यै नआएको बताउँछिन् उनी । बुढेसकालमा छोराछोरीले पाल्छन् भन्ने पुरानो मान्यता उनलाई कहिल्यै पनि विश्वास लागेन् । त्यसैले धेरैले माग्न आउँदा वा प्रेम प्रस्ताव आएपनि उनले अस्विकार गरिरहिन् ।

कोमल वली
लामो समय रेडियो नेपालमा समाचार वाचन गरेर र लोक गीत गाएर परिचय बनाएकी पात्र हुन् कोमल वली । एकपछि अर्को चर्चित गीत दिएर आम मानिसका बीच अविस्मरणीय छाप छाडेकी उनी हाल नेकपाका तर्फबाट राष्ट्रियसभाकी सांसद बनेकी छन् । उनी पनि अविवाहित राजनीतिकर्मी तथा कलाकार भित्र परेकी छन् । धेरैपटक अन्तर्वार्तामा उनले यो साल विहे गर्ने त्यो साल विहे गर्ने भन्दै आएपनि आजसम्म विवाह गरेकी छैनन् । तर, उनले गाएका गीतहरुमा भने पोइल जाम पाम जस्ता अभिव्यक्तिहरु आउने गरेका थिए । उनी हाल ४८ वर्षकी पुगेकी छन् ।

प्रतिक्रिया दिनुहोस्