अख्तियार प्रमुखको मान्छे भन्दै खुलेआम तस्करीमा एसपी



भैरहवा : शान्ति सुरक्षासहित चोरी तस्करी समेत नियन्त्रण गर्ने दायित्व बोकेको प्रहरी नै अबैध क्रियाकलापमा प्रत्यक्ष जोडिएको देखिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नबिन कुमार घिमिरेको नातेदार भएको भन्दै रुपन्देही प्रहरी प्रमुख एसपी हेम कुमार थापाले जिल्लामै खुलेआम चोरी तस्करी गराउँदै आएका छन् ।

एसपी थापाले अख्तियार प्रमुख घिमिरे आफ्नो मामा ससुरा भएको बताउँछन् । उनले आफ्नो हाकिमहरुलाई समेत नटेरि घिमिरेकै धाक लगाउदैं चेन अफ कमान्ड पनि तोड्दै आएको बुझिएको छ । उनले जे गरेता पनि कसैले केही गर्न नसक्ने हुदां ढुक्क भएर काम गर्न मातहतका इन्चार्जहरुलाई निर्देशन समेत दिने गरेका छन् । एक प्रहरी अधिकृत भन्छन्, ‘हामीलाई टेन्सन छैन । एसपी साबको मान्छे अख्तियार प्रमुख हुनुहुन्छ । उहांले परेको म मिलाउछु भन्नु भएको छ । ’

एसपी थापा जिल्लाको प्रहरी प्रमुख भएर आएपछि एक दशक यताकै सबैभन्दा बढी चोरी तस्करी भईरहेको छ । यतिबेला रुपन्देहीमा खुलेआम प्याजको तस्करी, हार्डवेयर समानको तस्करी , कपडाको तस्करी भईरहेको छ । विगतमा साइकल, मोटरसाइकलमा रातिको समयमा मात्रै हुने चोरी तस्करी यतिबेला पीकअप भ्यान र टयाक्टरबाट खुलेआम दिनदहाडै हुदैं आएको छ ।

रुपन्देहीको मर्चवार, बोधवार, मैनिहवा, लुम्बिनी, सेमरपानी, धकधई, केवटलीया नाकाबाट भन्सार छलेर विभिन्न सामग्री नेपाल भित्राईदै आएको छ । मर्चवार, बोधवार, लुम्बिनी, सेमरी र धकधई क्षेत्रबाट ठूलो परिणाममा राजेन्द्र शर्मा, पप्पु भारती, महावीर, छट्टु, ब्रिजेश लगायतले कपडा, हार्डवेयर र पेन्टको तस्करी गर्ने गरेका छन् । सो समूहले मासिक ५ लाख एसपीका घुमुवालाई बुझाउने गरेका छन् ।

यसैगरी भैरहवा क्षेत्रबाट स्कुटरमा बिष्णु थापा, पशुपति, शम्भुलगायतले कपडा तस्करी गर्ने गरेका छन् । यो समूहले प्रहरीलाई मासिक डेढलाख रुपैयाँ बुझाउने गरेको छ । यिनीहरुले तस्करीका कपडा बुटवलमा फेन्सी पसल र गोदामहरुमा विक्री गर्ने गरेका छन् ।

तस्करहरुसंग महिनाबारी पैसा असुल्नकोलागी एसपी थापाले प्रहरी जवान शंकरराज गिरीसहित, वीरेन्द्र रोक्का क्षेत्री र सिपाही कृष्ण श्रेष्ठलाई परिचालन गरेका छन् । उक्त समूहले नै तस्करहरुसंग भेट्ने तथा समान पास गर्नमा सहजीकरण गर्ने गरेका छन् ।

मर्चवारबाट कपडा, होर्डवेयर तस्करी गर्ने राजेन्द्रहरुको समूहले मर्चवार, बेथरीलगायतका ठाउँमा कपडाको गोदाम नै बनाएका छन् । तस्करी हुने नाकामा एसपी थापाले आफू निकटका प्रहरीहरुलाई इन्चार्ज बनाएर खटाएका छन् ।

बेथरीमा आफ्नो विश्वासपात्र सई पदम खड्का र मैनिहवामा पहिले जिल्लामा लामो समय घुमुवा बसेका असई कमल भट्टराईलाई पठाएका छन् । बेथरीका इन्चार्ज खड्कालाई एसपी थापाले जिल्लाको पश्चिम क्षेत्र मर्चवार र लुम्बिनीका तस्करसंग रकम असुल्नेको कमान्ड सम्हाल्ने समेत जिम्मेवारी दिएका छन् । यसैगरी मैनिहवाका इन्चार्ज भट्टराईलाइ सेमरपानी, धकधई नाका सहित पुर्वि क्षेत्रका तस्करसंग रकम असुल्नेको कमान्ड सम्हाल्ने समेत जिम्मेवारी दिएका छन् ।

अहिले मर्चवार क्षेत्र र बेलहिया कपडा तस्करीका लागि मुख्य केन्द्र हो । सेमरा, धकधई, लुम्बिनी, मेउिडिहवा हार्डवेयरका लागि । बेलहियाबाट स्कूटर र मर्चवारबाट मोटरसाइकल, साइकल र पिकअफ भ्यानमा कपडा तस्करी हुने गरेको छ । खासगरी बेलहियाबाट कपडा दिनमा तस्करी हुने गरेको छ भने मर्चवारबाट दिनरात नै हुने गरेको छ । दिनभरी गोदाम गरेर राखिएका कपडा लगायतका वस्तु रातभरी बुटवल, चितवन, पोखरा, काठमाडौं लगायतका बजारमा पठाइन्छ । केही मात्रामा कपडा र हार्डवेयर ट्रान्सपोर्टमा मिलाएर समेत पठाउने गरिएको छ । कतिपय ट्रान्सपोर्ट कम्पनीहरुले नक्कली विल बनाएर नै काठमाडौंसम्म कपडा पठाउने गरेका छन् ।

एक जना प्रहरी अधिकृत भन्छन्, ‘पहिले पहिले यसो तस्करहरु हामीलाई पनि नमस्कार गर्दै चिया खाम भन्दै आउथें अहिले त हाकीमसंग सिधा सम्पर्क भएपछि हामीले नमस्कार गर्दा पनि टाढैबाट हात हल्लाउदैं हिड्छन् । ’

सीमा क्षेत्रको एक प्रहरी चौकी इन्चार्ज थप गुनासो गर्दै भन्छन, ‘उनीहरुको माथी सिधा कनेक्सन छ । यसो रोकिदियो भने घुमुवाहरुले माथिको आदेश छ छाडिदिनु भन्छन् । हामी त यहां दिन काट्ने मात्रै हो । ’ यता रुपन्देही प्रहरीले भने तस्करीको विषयमा आफुहरु सजग रहेको बताएको छ । जिल्लाका प्रवक्ता खड्क बहादुर खत्री प्रहरीले तस्करी बढाउने भन्दा पक्रिने कार्यमा तल्लीन रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्