प्रदेश २ को सरकार र मन्त्री कोही पनि फेरिदैन : मुख्यमन्त्री राउत



जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मधेश आन्दोलनको म्यान्डेट अनुरुप गठन भएको समाजवादी र राजपा गठबन्धनको यो सरकार पुरै ५ वर्षसम्म चल्ने दावी गरेका छन् ।

नेपाल इन्जिनियर्स एशोसिएसनको प्रथम वार्षिकोत्सव सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै मुख्यमन्त्री राउतले केहीदिन अघि प्रदेश २ सरकारका मन्त्री फेरिने बिभिन्न सञ्चार माध्यमहरुमा आएको समाचार प्रति इंगित गर्दै उनले यो कुरा हल्ला र गलत अपवाहमात्र भएको बताए ।

प्रदेश २ को सरकारमा समाजवादी र राजपा रहेको र दुवै पार्टीबीच मन्त्री फेरिने कुनै छलफल नभएको राउतले बताए । मुख्यमन्त्री राउतले भने,‘ कुनैपनि हल्लाको पछाडी नलाग्नुस,यो सरकार मधेशी जनताको म्यान्डेटले बनेको हो,पाँच वर्ष सम्म चल्छ,न सरकार फेरिन्छन् न मन्त्री नै ।’

संघीयतालाई नरुचाउने प्रतिक्रियावादी शक्तिहरु समाजवादी र राजपाबीच फुटको अवस्था ल्याएर संघीयतालाई नै सखाप पार्ने षडयन्त्र गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले दुबै दलका शीर्ष नेताहरुले चयन गरेकोले मन्त्रीहरु कुनैपनि हालतमा नफेरिने स्पष्ट पारे ।

नेपाल इन्जिनियर्स एशोसिएशन प्रदेश २ का अध्यक्ष नन्द किशोरको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘यो सरकार सिक्ने क्रममा छ र कर्मचारीतन्त्रबाट पूर्ण सहयोग पाउन नसकेको अवस्थामा केही समस्याहरु त आएको छ तर मुलुकको संघीयता जोगाउने अभिभारा प्रदेश नम्बर २ माथिनै रहेकाले आफुहरु झिना मसिना कुरामा अल्झिने छैनौ ।’
एक फरक प्रसंगमा बोल्दै मुख्यमन्त्री राउतले गत आर्थिक वर्षको उपभोक्ताहरुको भुक्तानी गर्न कानूनी समस्याहरु आएकोले ढिलो हुन गएपनि अबको केही दिनमै नियमावली बनाएर भुक्तानी दिने तयारी सुरु भइसकेको बताए ।

भएको उक्त कार्यक्रममा मुख्यमन्त्री राउतले इन्जिनियरहरुको सेवा सुविधानको लागी प्रदेश सरकार प्रतिवद्ध रहने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्