साउदी युवराजद्वारा विश्वकै सबैभन्दा धनी व्यक्तिको फोन ह्याक !



काठमाडौं : ताजा आरोपहरूले साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानलाई अमेरिकी अर्बपति जेफ बेजोसको फोन ह्याकिङमा मुछिदिएको छ।

फोन ह्याकको घटना साउदी शासकका आलोचक एवम् पोस्टका पत्रकार जमाल खसोग्जीको हत्याभन्दा पाँच महिना पहिले नै भएको थियो। पोस्टका मालिक बेजोस हुन्।

अमेरिकामा बस्दै आएका साउदी सरकारका आलोचक खसोग्जीलाई सन् २०१८ को अक्टोबरमा टर्कीको इस्तानबुलस्थित साउदी दूतावासभित्र हत्या गरिएको थियो।

बिन सलमानलाई उक्त हत्या आदेश दिएको आरोप लागेको छ तर साउदी अरेबियाले सो हत्या उनका सेवामा रहेका मानिसहरूले विनाअनुमति गरेको भन्दै आएको छ।

बुधवार द गार्डियन पत्रिकामा प्रकाशित समाचारका अनुसार बेजोसको फोनमा ह्वाट्सएपमार्फत् बिन सलमानको व्यक्तिगत खाताबाट शङ्कास्पद लिङ्क पठाइएपछि उनको फोन ह्याक भएको थियो।

यस सन्दर्भमा कहिले कहिले के के घटना भएका थिए भनी हामीलाई थाहा भएका जानकारी यहाँ प्रस्तुत छ:

línea
साउदी अरेबियाले खसोग्जीको हत्या उसका सुरक्षा सेवाका मानिसहरूले विना अनुमति गरेको भन्दै आएको छ

१ मे २०१८ नमागिएको फाइल

द गार्डियन पत्रिकाका अनुसार यस मितिमा युवराजको फोनबाट बेजोसको फोनमा “हेर्दा मित्रतापूर्ण कुराकानी” कै पाटो लाग्ने गरी “एक नमागिएको फाइल” पठाइयो।

अज्ञात सूत्रहरूको हवाला दिँदै पत्रिकाको विवरणमा भनिएको छ त्यसपछि केही घण्टामै बेजोसको फोनबाट ठूलो मात्रामा डेटा चोरियो।

२ अक्टोबर २०१८ – खसोग्जीको हत्या

जमाल खसोग्जी इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा जान्छन्। त्यहाँ उनी आफ्नी टर्कीस पत्नी हाटिज जेंगेजसँगको बिहेसम्बन्धी कागजात लिन भनेर गएका थिए। तर उनी कहिल्यै बाहिर आएनन्।

खसोग्जी मारिएका हुन् भनेर स्वीकार्न साउदी अरेबियालाई दुई साता लाग्यो।

१६ नोभम्बर २०१८ – मोहम्मब बिन सलमानमाथि आरोप

द वाशिङ्गटन पोस्ट पत्रिकामा अमेरिकी गुप्तचर संस्था सीआइएले खसोग्जीको हत्याको आदेश बिन सलमानले दिएका हुन् भनि समाचार छापियो।

साउदी अरेबियाले भने हत्यामा युवराज संलग्न नभएको बताएको छ।

संयुक्त राष्ट्रसंघका अनुसार खसोग्जीको पूर्व नियोजित गैरन्यायिक हत्या गरिएको छ

७ फेब्रुअरी २०१९ – बेजोस र ट्याबलोइडबीच विवाद

अमेरिकास्थित साउदी समर्थित ट्याबलोइड न्याश्नल इन्क्वाएररले बेजोस र उनकी महिला मित्र फक्स टेलिभिजन पूर्वप्रस्तोता लरेन सान्चेजबीचका व्यक्तिगत एसएमएस सन्देश प्रकाशित गरेपछि बेजोसले सो पत्रिकामाथि “ब्ल्याकमेल” को आरोप लगाए।

३० मार्च २०१९ – साउदीमुछियो

बेजोसले नियुक्त गरेका अनुसन्धानकर्ता ग्याभिन डि बेकरले उनको फोन ह्याकिङको घटनामा साउदी अरेबिया मुछिएको जनाए।

“हाम्रो अनुसन्धान तथा कैयौँ विज्ञहरूले बलियो विश्वासका साथ के निचोड निकालेका छन् भने साउदीहरूले बेजोसको फोनमा पहुँच पाए र उनको निजी सूचना चोरे,” डि बेकरले लेखे।

बेजोसले लरेन सान्चेजलाई पठाएका निजी सन्देशहरू ह्याक हुनुका पछाडि साउदी अरेबिया जिम्मेवार रहेको प्रमाण फेला पारेको अनुसन्धानकर्ताहरूको भनाइ छ

१९ जुन २०१९ – ‘पूर्वनियोजित हत्या

संयुक्त राष्ट्रसङ्घको गैरन्यायिक हत्यासम्बन्धी विशेष प्रतिवेदक आन्यास कालामारले इस्तानबुलमा अनुसन्धान टोलीको नेतृत्व गरेकी थिइन्।

उनले जारी गरेको प्रतिवेदनमा सो हत्या पूर्वनियोजित रहेको र युवराज मोहम्मद बिन सलमानमाथि अनुसन्धान हुनुपर्ने उल्लेख छ।

२३ डिसेम्बर २०१९ – मृत्युदण्ड

साउदी अरेबियास्थित एक अदालतले जमाल खसोग्जीको हत्यालाई लिएर पाँच जनालाई मृत्युदण्ड अनि तीन अन्यलाई जेल सजाय सुनाएको छ।

“जसले हत्याको आदेश दिए ती स्वतन्त्र मात्र छैनन्, ती विरुद्ध कुनै अनुसन्धान र सुनुवाइ समेत हुन सकेको छैन,” कालामारले प्रतिक्रिया दिइन्।

२१ जनवरी २०२० – ‘हास्यास्पद‘ दाबी

द गार्डियनको समाचारमा जमाल खसोग्जीको हत्याभन्दा पाँच महिना पहिले वाशिङ्गटन पोस्टका मालिक बेजोसलाई बिन सलमानले नमागिएको फाइल ह्वाट्सएप मार्फत् पठाएको सार्वजनिक।

उक्त पत्रिकाका अनुसार फोनबाट के के चोरियो वा चोरिएका सूचना के कसरी प्रयोग भयो भन्ने बारे ऊसँग कुनै जानकारी छैन।

अमेरिकास्थित साउदी राजदूतावासले ती आरोपलाई “हास्यास्पद” भनेको छ।

línea
जमाल खसोग्जीको हत्याले साउदी अधिराज्य र अन्तर्राष्ट्रिय समुदायको सम्बन्धमा तनाव उत्पन्न भएको छ

खसोग्जीको हत्याभन्दा पहिले अमेजन कम्पनीका संस्थापक एवम् विश्वका सबभन्दा धनी व्यक्ति जेफ बेजोसको बिन सलमानसँग मित्रवत् सम्बन्थ थियो। साथै साउदी अरेबियामा उनका व्यापारिक स्वार्थ थिए।

तर जब उनको पत्रिकाले साउदी अरेबियाविरुद्ध गरेको निन्दा र हत्याबारे गरेका समाचारको उनले बचाउ गरे तब बेजोसको साउदीसँगको सम्बन्ध बिग्रियो।

खसोग्जीका साथी तथा ओस्लोस्थित अरब लेखक तथा अभियन्ता इयाद एल-बग्दादी भन्छन् विश्वकै सबभन्दा धनी व्यक्तिको फोन ह्याक गरेर साउदी अरेबियाले रियादका आलोचकहरूलाई “एक सन्देश” दिएको छ।

“बेजोसलाई निशानामा पार्नु पछाडिको अँध्यारो तर्क यसले प्रतिबिम्बित गर्छ”, वाशिङ्गटन पोस्टमा एल-बग्दादी लेख्छन्।

“यदि पृथ्वीको सबभन्दा धनी व्यक्ति निशानामा पर्न र सम्भवत: ब्ल्याकमेलमा पर्न सक्छन् भने को सुरक्षित रहला?” बीबीसी नेपाली सेवाबाट

प्रतिक्रिया दिनुहोस्