नेकपाको सचिवालय बैठक बस्दै,यस्ता छन् एजेण्डा



काठमाडौं : उपसभामुख र भोलीदेखि बस्न गईरहेको केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज दिउसो ४ बजे बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्नुअघि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता हुने बालुवाटार स्रोतले बताएको छ ।

सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकका एजेण्डा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले अध्यक्षद्वयको तर्फबाट राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी रहेको छ ।

नेकपाको केन्द्रीय समितिको बैठक भोलीबाट शुरु हुँदैछ । पार्टी एकीकरण पछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकको तयारी सकिएको बताईन्छ ।

भोली बुधबार ११ बजे उद्घाटन हुने बैठकलाई अध्यक्ष द्वय ओली र प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । ४४५ सदस्यीय जम्बो केन्द्रीय कमिटी भएकाले पार्टी कार्यालयमा नअट्ने भएपछि राष्ट्रियसभामा बैठक आयोजना गरिएको हो । सपथग्रहणपछि नेकपा केन्द्रीय समितिको बैठक बस्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्