जुम्लाका शिक्षकले तलब पाएनन्



जुम्ला : जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी तलब माग्दै प्रशासनमा पुगेका छन् । आइतबार जिल्ला प्रशासन कार्यालयमा पुगेर आठ वटै स्थानीय तहका शिक्षक र कर्मचारीले आफूहरूको तलब दिलाइदिन माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।  

एक हजार तीन सय ४३ शिक्षक कर्मचारीहरूले दोस्रो चौमासिकको तलब भत्ता नपाएको भन्दै प्रशासनको गुहार मागेका हुन् । उनीहरूले एक हप्ताभित्र तलब नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

पहिलो चौमासिकदेखि विद्यार्थीको खाजा भत्ता समेत निकासा भएको छैन । समयमै तलब भत्ता निकासा नहुँदा हिउँदे बिदामा जिल्ला बाहिर जानुपर्ने शिक्षक–शिक्षिका तथा कर्मचारीलाई समस्या भएको छ । 

तलब माग्दै प्रशासन पुगेका शिक्षक भीम थापालेस्थानीय सरकार बनेपछि सेवा प्रवाह झनै खस्केको आरोप लगाए । चौमासिकमा आउने तलब पनि नियमित नआउँदा पारिवारिक खर्च धान्न नै मुस्किल हुने गरेको उनको गुनासो छ । 

ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठले शिक्षकको तलब भत्ता छिट्टै निकासा गर्न सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने आश्वासन दिएका छन् । 

सङ्घीयता कार्यान्वयनमा आएसँगै विद्यालय सञ्चालनको जिम्मा स्थानीय सरकारमा सरेको हो ।

प्रतिक्रिया दिनुहोस्