किन सेलायो रात्रिकालीन बस सेवा सञ्चालन ?



काठमाडौं : साँझ परेपछि राजधानीमा सार्वजनिक यातायात पाउन समस्या हुन्छ । बसहरू पातलिँदै जान्छ, तर सार्वजनिक यातायात चढेर आफ्नो गन्तव्यसम्म पुग्ने यात्रुको लर्को हुन्छ ।

सपनाको सहर काठमाडौंमा ६ बजेदेखि नै सवारी पाउन मुस्किल हुने अधिकांश सर्वसाधारणको गुनासो छ । सरकारले यातायातमा एकाधिकार (सिण्डिकेट) हट्यो सार्वजनिक यातायात सहज रूपमा पाइन्छ भने पनि व्यवहारमा लागू हनु सकेको भने छैन। केहि दिन अघि कोटेश्वरमा भेटिएकी इमाडोल बस्ने सविना बस्नेतले साँझ परेपछि सवारी नपाउने गुनासो गरिन् । वेटरको रूपमा काम गर्ने सविनाको छुट्टी साँझ साढे ६ बजे हुन्छ ।

उनी भन्छिन् – ‘जहिले एक डेढ घण्टा बस कुर्नुपर्छ, कहिले त २ वटा गाडीसम्म चेन्ज गर्नुपर्छ । त कहिले लिफ्ट मागेर हिँड्नु पर्छ । कहिले धेरै भाँडा तिरेर ट्याक्सीमा यात्रा गर्नुपर्छ ।’ उनी मात्र हैन हजारौँ सार्वजनिक गाडीमा यात्रा गर्ने राजधानीका सर्वसाधारण समस्या यस्तै छ ।

पानी परेको दिन, सार्वजनिक बिदाको दिन अझ जाडोको समयमा त बेलुका सवारी पाउनै मुस्किल हुन्छ । पाइहाले पनि खुट्टा टेक्ने ठाउँ हुँदैन ।

राजधानीका आलापोट, गागलफेदी, मूलपानी, सुन्दरीजल, ललितपुर र भक्तपुरका काठ क्षेत्रमा जाने सवारी पनि पाउन मुस्किल हुने गरेको छ ।

यसरी सवारी नपाउँदा साँझ वा रातिको समयमा उपत्यका बाहिरबाट काठमाडौं भित्रने र उपत्यकाभित्र साँझ अबेरसम्म काम गर्ने यात्रु मर्कामा पर्ने गरेका छन् ।

सरकारले असार १ गतेदेखि नै रात्रिकालीन बस सेवा सञ्चालन गर्ने जनाए पनि अहिलेसम्म कार्यान्वयन भएको छैन । यसरी सरकारले रात्रिकालीन बस सेवा सञ्चालन ल्याउन भनेको यो पहिलो पटक भने होइन् ।

साझाले सञ्चालन गरेको रात्रीबसको अवस्था
अहिले काठमाडौं उपत्यकामा फेरी रात्रि बस सेवा सञ्चालन गरिरहेको छ । साझा यातायात सहकारी संस्थाले जाडोको समयमा राति ८ बजेदेखि साढे ९ बजेसम्म सञ्चालन गरिरहेको छ भने गर्मी समयमा ९ बजेदेखि साढे १० बजेसम्म सञ्चालन हुने साझा यातायातका एकाउन्टेन गोपाल प्रसाद पन्तले बताए ।

यसरी रात्रीबस सञ्चालन गर्दा घाटामा गएको उनले बताए । उनले भने–‘बस चलाएर मात्र हुँदैन, यात्रु नै हुँदैनन् । १०-१५ जना मात्र हुन्छन् । उनीहरूसँग सय–सय रुपैयाँ उठाएर पनि तेलको पैसा उठ्दैन । त्यति मात्र हैन ड्राइभर कन्टेक्टरलाई ओभर टाइमको पैसा दिनुपर्छ । अनि कसरी सञ्चालन गर्नसक्छौं । दश अथवा १५ रुपैयाँ उढाएर । अहिले त महानगरले भनेकोले हामीले घाटा खाएर सञ्चालग गरिरहेका छौँ ।’

उनका अनुसार शान्ति सुरक्षा, राति बजार खुल्यो भने मात्र रात्रि बस सेवा सञ्चालन गर्न सकिन्छ। ‘यात्रु नभएपछि बस सञ्चालन गरेर मात्र केही हुँदैन । हामीले घाटा खाएर मात्र बस सेवा सञ्चालन गर्न सक्दैनौँ । यो सेवा दिने हिसाबले सञ्चालन दिने हो भने मात्र सञ्चालन हुन सक्छ ।’

पन्तले पहिला सरकारले रात्रिकालीन बस सेवा सञ्चालन गर्न सुरक्षित वातावरण बनाउनुपर्छ । रात्रिकालीन बस सेवा शुरु भए दिउँसो हुने जाममा पनि कमी आउने उनको भनाइ छ ।

उनले भने– ‘रात्रिकालीन व्यवसाय फस्टाउन व्यवसायीले सुरक्षित महसुस गर्नुपर्छ । व्यवसाय सुरक्षित हुने बित्तिकै रात्रिकालीन बजारमा यात्रु अभ्यस्त भएपछि नाफा देखेपछि बस व्यवसायी आफै सेवा दिन शुरु गर्छन् ।’ सरकारले ठूला कुरा मात्र केही नहुने उनको भनाइ छ ।

उनका अनुसार न्यूरोड गेटबाट नारायण गोपाल चोक हुँदै नयाँ बसपार्क, न्यूरोड गेटबाट त्रिपुरेश्वर हुँदै कलंकी र न्यूरोट गेटबाटै नयाँ बानेश्वर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नयाँ बसपार्कसम्म गरेर तीन रुटमा अहिले बस सञ्चालन भइरहेका छन् । बस विभिन्न स्थान परिक्रमा गरेर फेरी न्यूरोड गेटमा नै फर्कने छ ।

विभाग के भन्छ ?
यातायात व्यवस्था विभागले असार १ गतेदेखि रात्रीबस सेवा शुरु गर्ने निर्णय गर्योि । तर, त्यसको केही समयपछि विभागले सूचना जारी गर्दै थप अध्यन गरी ठोस निष्कर्षमा पुग्नुपर्ने आवश्यकता महसुस गरेर स्थगित गरियो । तर, ७ महिना बितिसक्दा पनि कुनै निर्णय भएको छ । माथिल्लो निकायबाट तत्काल रोक्नु भन्ने निर्देशन आयो त्यही अनुसार रोकेको यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले बताए ।

उनले भने– ‘हामीले सुचना त्यतिखेरै निकाले भनेका छौँ । म अहिले केही भन्न सक्दिन । सूचना निकालापछिदेखि फाइल नै पल्ट्याएका छैनौँ ।’

पहिला किन रात्रिकालीन बस बन्द भयो ?
यसअघि काठमाडौं महानगरपालिकाले विसं. २०६९ भदौ १ गतेबाट तामझाम र ठूलै होहल्लाका साथ रात्रिकालीन बस सेवा सञ्चालन गर्यो । महानगरपालिकाले आफैँ प्रहरी सुरक्षा दिएको थियो भने सुरक्षाका लागि भन्दै सीसी क्यामेरा समेत बसभित्रै जडान गरेको थियो । तर, त्यो तामझाम एक वर्ष पनि टिक्न सकेन । ८ देखि ११ बजेसम्म १४ वटा रुटमा सञ्चालन हुँदै आएको सेवा एक वर्ष नपुग्दै बन्द भयो । कारण थियो महानगरपालिकाले दिएको ४५ लाख सकिनु । महानगरले दिएको पैसा सकिएपछि बस व्यवसायी सङ्घले घाटामा बस सञ्चालन गर्न नसक्ने भन्दै सेवा बन्द गर्यो । यात्रुलाई केही सहज होला भनेर आश गरेका यात्रु फेरी मारमा परे । दोस्रो चरणमा महानगरपालिकाको अनुदान बिनै रात्रिकालीन बस सेवा सञ्चालनमा आए पनि लामो समय टिकेन । यता, यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने यात्रु नभएर रात्रिकालीन बस सञ्चालन नभएको बतायो ।

साँझ पर्ने बित्तिकै सहर सुनसान १
जाडोको समय उपत्यकामा सहर सुनसान हुन थाल्छ । मानिसहरू पनि पातलिन थाल्छन्, बजार बन्द गर्न थाल्छन्, सवारीहरू कम चल्न थाल्छन् । बेलुका भएपछि सवारी पाइँदैन भनेर पाएको सवारी साधनमा यात्रुहरु कोचा कोच गरेर यात्रा गर्छन् । प्रायः अफिस छुट्टी भएपछि समयमै आफ्नो गन्तव्यमा पुन्छन् तर केही यात्रुहरू अस्पताल कुरुवा, ढिलासम्म काममा रहेका कामदार, उपत्यका बाहिरबाट बसपार्कमा राति आइपुगेका यात्रुलाई बेलुका सवारी नपाउँदा समस्या हुन्छ । यी समस्यालाई समाधान गर्न पटक पटक सरकारले योजना सार्वजनिक गर्छ तर कार्यान्वयन गर्न सक्दैन ।

प्रतिक्रिया दिनुहोस्