वैशाखदेखि पाइपबाट पेट्रोलियम आयात



वीरगन्ज : दक्षिण एसियाकै पहिलो क्रस बोर्डर परियोजनाका रुपमा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन वैशाखदेखि सञ्चालनमा आउने भएको छ । वैशाखदेखि भारतबाट सोही पाइपलाइनमार्फत नेपालमा पेट्रोलियम आपूर्ति हुने परियोजना कार्यालय सिमराले जनाएको छ ।

 

सो परियोजना भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म करिब ७० किलोमिटर लम्बाइको छ । भारततर्फ मोतिहारीदेखि रक्सौलसम्म ३२ दशमलव २५ किलोमिटर र सीमावर्ती सहर रक्सौलदेखि अमलेखगन्जसम्म ३७ दशमलब २५ किलोमिटर छ । परियोजनाअन्तर्गत पाइप बिछ्याउने काम द्रुतगतिमा भइरहेको कार्यालयले जनाएको छ । 

 

नेपालतर्फ गण्डकदेखि परवानीपुरसम्म करीब एक किमि र पर्सा राष्ट्रिय निकुञ्जको नौ किममा पाइपलाइन ओछ्याउन बाँकी रहेको परियोजना कार्यालय सिमराका इन्जिनियर शरदप्रसाद पौडेलले बताए ।

 

भारतीय भूमिमा करिब चार किमि पाइप ओछ्याउने काम बाँकी छ । सीमावर्ती भारतको रक्सौलदेखि सिर्सिया नदीमा पाइप छिराई वीरगन्ज भन्सारको शङ्कराचार्य गेटसम्म ल्याउने काम भइरहेको बताइएको छ । 

 

उक्त परियोजना भारतीय आयल कर्पोरेसन (आइओसी) को दुई अर्ब भारतीय रुपैयाँभन्दा बढीको लागतमा निर्माण भइरहेको छ । परियोजनाले आगामी फेब्रुअरीसम्म पाइप गाड्ने काम सम्पन्न गरिसक्ने लक्ष्य लिएको छ । 

 

परियोजनाले सुरुमा भारतीय सीमावर्ती बजार रक्सौलबाट पाइप ल्याउने भने पनि अहिले विस्तार भएर मोतिहारीसम्म पुगेकाले काम बढ्न गएको हो । भारतीय आयल कर्पोरेसनले मोतिहारी डिपो पूर्णरुपले बनाइनसकेकाले केही ढिलो भएको प्राविधिकको भनाइ छ । 

 

पहिलो चरणमा एक सय ९० किलोलिटर प्रतिघण्टाका दरले विहारको राजधानी पटनाबाट डिजल आउनेछ । मोतिहारी डिपो सञ्चालनमा आएपछि प्रतिघण्टा २ सय किलोलिटर डिजल अमलेखगन्ज डिपोमा भण्डारण हुनेछ । भारतीय पक्षले सन् २०१९ सम्म मोतिहारी डिपो निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । 

 

मल्टी प्रोजेक्ट पाइपलाइन भएकाले यसबाट डिजल, पेट्रोल र मटितेलसमेत आयात हुनेछ । परियोजना सञ्चालनमा आएपछि सुरुमा डिजेलमात्र आयात गरिनेछ । मागको करिब ६० प्रतिशत डिजेल पाइपबाट नेपाल भित्रिने नेपाल आयल निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्