नेपाली चेलीहरुको लगातार तेस्रो जित, तीन खेलमै सेमिफाइनलमा



काठमाडौं : नेपाल महिला क्रिकेट टोली ट्वान्टी–२० स्म्यासमा संयुक्त अरब इमिरेट्स यूएईमाथि ६ विकेटले विजयी भएको छ । 

लगातार तेस्रो जितसँगै नेपालले एक खेलअगावै सेमिफाइनलमा स्थान बनाएको छ । ओपनर सिता रानामगर र काजल श्रेष्ठले उत्कृष्ट सुरुवात गरेपछि १ सय ६ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टाउन सफल भयो । उपकप्तानसमेत रहेकी रानामगरले ३७ र श्रेष्ठले २५ रनको योगदान गरे ।

 

हैमरा तासनिमको बलमा क्याचआउट हुनुअघि उपकप्तान रानामगरले ४ चौकाको मद्दतमा ३७ रन बनाएकी थिइन् । श्रेष्ठ २५ रन बनाउँदै रनआउट हुँदा इन्दु बर्मा १३ र डली भट्ट ७ रनमा एलबिडब्लुको सिकार भएपछि नेपालको इनिङ्स धर्मराएको थियो ।

 

त्यसपछि क्रिजमा आएकी कप्तान रुविना क्षेत्रीले १० तथा नेरी थापाले अविजित ६ रन बनाएपछि नेपाल विजयी बन्न सफल भयो । युएईका इहा ओजा, हैमरा तासनिम र छामनीले एक–एक विकेट लिए । 

यसअघि एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६ रनको लक्ष्य दिएको थियो ।

 

युएईका लागि ओपनर इसशा ओजाले २८ रन बनाएकी थिइन् । छाया मुगलले ३१ तथा चामन्ती सेनभीराठनीले २३ रन बनाउँदा अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

 

नेपालका तर्फबाट रानामगर, करुणा भण्डारी र सोनु खड्काले १–१ विकेट लिएका थिए । भने युएईका ३ खेलाडी रनआउट भएका थिए । 

यसअघि नेपालले शनिबार पहिलो खेलमा चीनलाई १० विकेट र आइतबार दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । समूह ए मा रहेको नेपाल अन्तिम खेलमा बुधबार आयोजक थाइल्यान्ड ‘ए’ सँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्