विराटनगर भन्सारले लक्ष्यभन्दा बढी राजश्व संकलन गर्‍यो



विराटनगर : विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७५-०७६ को छ महिनामा लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ । आर्थिक वर्षको आधा समय सकिदा लक्ष्यभन्दा ७४ लाख रुपैयाँ बढी राजश्व संकलन भएको प्रमुख भन्सार अधिकृत मिमांश अधिकारीले जानकारी दिए । 

 

साउनदेखि पुस मसान्त सम्ममा भन्सारले १९ अर्ब ५६ करोड ४६ लाख रुपैयाँ राजश्व संकलनको लक्ष्य लिएको थियो । अधिकारीकाअनुसार लक्ष्यभन्दा बढी १९ अर्व ५७ करोड २० लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

 

उनले भन्सार महसुलबाट आठ अर्व १२ करोड एक लाख, मूल्य अभिवृद्धि करबाट १० अर्ब ३६ करोड २६ लाख र अन्तःशुल्कबाट एक अर्ब आठ करोड ९३ लाख गरेर जम्मा १९ अर्ब ५७ करोड २० लाख रुपैयाँ संकलन गरिएको जानकारी दिए । 

गत आर्थिक वर्ष २०७४-०७५ को साउनदेखि पुस मसान्तसम्ममा भन्सारले १३ अर्ब ८३ करोड ६२ लाख रुपैयाँ मात्रै राजश्व संकलन गरेको थियो । गत आर्थिक वर्षको साउनदेखि पुस अन्तिमसम्मको तथ्यांक हेर्दा यस वर्षको पुस मसान्त सम्ममा ४१ दशमलव ५४ प्रतिशतले बढी राजश्व उठेको हो ।

 

भन्सारले चालु आर्थिक वर्ष भरीमा ४२ अर्ब ५३ करोड १९ लाख रुपैयाँ राजश्व संकलनको लक्ष्य लिएको छ । चालु यस वर्षमा लक्ष्य लिइएको मध्ये हालसम्म ४६ दशमलव शुन्य दुई प्रतिशत राजश्व संकलन भएको हो । 

बैशाख, जेठ र असार महिनामा भारत तथा तेस्रो मुलुकबाट सामान आयातमा वृद्धि हुने भएका कारण त्यस समयमा राजश्व संकलनमा हुने उल्लेख्य वृद्धिले लक्ष्य भेट्टाउन कुनै समस्या नहुने बुझाई भन्सारको छ । 

 

अधिकारीका अनुसार विगतमा पनि अन्य महिनामा भएका राजश्व संकलनको घाटालाई बैशाख, जेठ र असारमा हुने अत्यधिक आयातले पूर्ति गर्दै आएको थियो । आर्थिक वर्षको छ महिनामा लक्ष्यभन्दा बढी राजश्व संकलन भइसकेका कारण पूरै आर्थिक वर्ष सकिंदा लक्ष्य पूरा गर्न कुनै गाह्रो नपर्ने प्रमुख भन्सार अधिकृत अधिकारीको भनाइ छ । 

चोरी, पैठारी/निकासी नियन्त्रण तथा गस्ती परिचालन, सहज भन्सार जाँचपासको व्यवस्था, यात्रु जाँचपासमा कडाई, मालवस्तुको सही मूल्याँकन तथा वस्तु वर्गीकरण र मुद्धाको रुपमा दाखिला भएका माल वस्तुको समयमा नै लिलामी बिक्री जस्ता विषयमा ध्यान दिइएका कारण भन्सारको राजश्व संकलन उत्साहजनक बनेको दावी उनले गरे ।

 

 उनका अनुसार भारत तथा तेस्रो मुलुकबाट नेपालतर्फ आयात हुने प्रमुख माल वस्तुहरु पेट्रोलियम पदार्थ, एमएम विलेट, पोलीथिन दाना, स्टिल वायर रड, सेन्थेटिक यार्न, सिआर सिट, एलपी ग्यास, एचआर सिट र खाद्यान्नले राजश्व संकलनको धेरै हिस्सा ओगट्दै आएका छन् । 

 

अधिकारीले नेपालबाट भारत तथा तेस्रो मुलुकमा सेन्थेटिक यार्न, जुटको झोला, जुटबाट बुनिएका कपडा, अलैंची, अन्य रेसाको कपडा, रिफाईन्ड पाम आयल, जीआई वायर, जस्तापाता, कपर सिट र पिना बढी निर्यात हुने गरेको जानकारी दिए । 

 

प्रतिक्रिया दिनुहोस्