काबुल हमलाकाे जिम्मा तालिवानले लियाे



काबुल : अफगानिस्तानको राजधानी काबुलमा सोमबार साँझ गराइएको बम विस्फोटको जिम्मेवारी तालिवान लडाकु समूहले लिएको छ । काबुलमा सोमबार साँझ भएको शक्तिशाली ट्रक बम बिस्फोटमा परी चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य ९० जना घाइते भएका थिए ।

घाइते भएकामा २३ जना बालबालिका पनि छन् । गृह मन्त्रालयका प्रवक्ता नाजिब दानिसले बिस्फोटमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताएका छन् । विस्फोटबाट मारिएकाहरुमा तीन जना सैनिक र एक जना सर्वसाधारण छन् । 

घाइते भएकामा १२ जना महिला पनि छन् । उक्त विस्फोट निकै सुरक्षित मानिएको 'ग्रिन जोन' छेउमै रहेको अफगानिस्तान निर्वाचन आयोगको कार्यालयनजिकै भएको थियो । 

अफगानिस्तानको संसदका लागि गत अक्टोबरमा चुनाव भए पनि काबुलको नतिजा सोमबारमात्र निर्वाचन आयोगले सार्वजनिक गरेको थियो । उक्त चुनावमा आठ सय भन्दा बढी उम्मेदवार भएपनि २४ जना पुरुष र ९ जना महिला विजयी भएका छन् । अफगानिस्तानको २ ;o ४९ सदस्यीय संसदका लागि भएको चुनावको परिणाम घोषणामा ढिलाइ भइरहेको छ । 

चुनावमा पराजित भएकाहरुले समग्र निर्वाचन प्रक्रियामै धाँधली भएको आरोप लगाएका छन् । 

सोमबार भएको विस्फोटको करिब एक घण्टापछि दानिसले गरेको ट्वीटमा घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई पक्राउ गरिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्