लागुऔषधको कारोवार बढ्दो



बाँके : जिल्लामा लागुऔषधको कारोबार दिनप्रतिदिन बढ्दै गएको छ ।

नेपालबाट गाँजा, चरेस भारतमा लैजाने र भारतबाट बनिबनाउ लागुऔषध जमुनाह नाका हुँदै नेपाल ल्याउने गिरोह रहेको प्रहरीले जनाएको छ ।

ठूलो गिरोहलाई बाँके प्रहरीले अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन । बाँकेमा पछिल्लो चार वर्षमा कर्तव्य ज्यान, कीर्ते र विष सेवनसम्बन्धी मात्रै ५९७ मुद्दा दर्ता भएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताए ।

उनका अनुसार बाँकेमा यो आर्थिक वर्षको अहिलेसम्म ७०० लागुऔषधका मुद्दा दर्ता भएका छन् । उनले भने,“दर्ता मुद्दामा एक हजार १२५ नागरिक पक्राउ परेका छन् ।” यसरी पक्राउ पर्नेमा अधिकांश भरिया मात्रै हुने गरेको खुलेको छ ।

नेपालमा अहिले २ लाखको हाराहारीमा युवाले लागुऔषध प्रयोग गर्दै आएको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी वरिष्ठ उपरीक्षक प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले यहाँ आयोजित लागु औषधसम्बन्धी एक कार्यक्रममा बताए ।

उनका अनुसार लागुऔषधबाट करिब ८० प्रतिशत अप्राकृतिक मृत्यु र ७० प्रतिशत आपराधिक घटना हुने गरेका छन् । हाल नेपालमा लागुऔषधको विश्लेषण ११.३८ प्रतिशतले बढिरहेको बताउँदै नेपालमा १० देखि ४० वर्ष उमेर समूहका ९५ प्रतिशत युवायुवती यसका प्रयोगकर्ता रहेको प्रहरी वरिष्ठ उपरीक्षक लामाले बताए ।

लागुऔषध सेवन तथा ओसारपोसारमा ८० प्रतिशत सात देखि १२ कक्षा पढ्ने छन् । यसमा युवतीको सङ्ख्या ४० हजार छ । विशेषगरी लागुऔषधको गिरोहले ११ र १२ कक्षाका युवायुवतीलाई प्रयोग गर्ने गरेको सरकारी अधिकारीको दाबी छ ।

अवैध लागुऔषध ओसारपसार नियन्त्रण गर्न कानून कार्यान्वयन गर्ने निकाय क्रियाशील रहे पनि अन्तर्राष्ट्रिय रूपमा संगठित र सक्रिय गिरोहको सञ्जालले गर्दा नियन्त्रण कार्य चुनौतीपूर्ण बन्दै गएको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताए ।

उनले लागुऔषध प्रयोग र कारोबार नेपालमा जटिल बन्दै गएको बताए । जनसंख्याको वृद्धि तथा भूमण्डलीकरणको कारणसँगै लागुऔषध प्रयोगकर्ता र यसका कारोवारीको संख्यामा वृद्धि भएको छ ।

लागुऔषध कारोबार नियन्त्रणका लागि सरकारले लागुऔषध नियन्त्रण रणनीति, वि.सं.२०६६ लागू गरेको छ । गृह मन्त्रालयले गृह प्रशासन सुधार योजना वि.सं.२०७४ अन्तर्गत लागुऔषध सम्बन्धी नीति तथा योजना समावेश गर्नुका साथै ‘लागुपदार्थ निषेध र मदिरा नियन्त्रण’ अभियान २०७५ शुरु गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्