चीन–क्यानडा तनाव अझ बढ्ने संकेत



बेइजिङ: चीनले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले लागू औषधको तस्करी गरेको आरोपमा एक क्यानडाली नागरिकलाई दिएको मृत्युदण्डको आलोचना गरेको आपत्ती जनाएको छ । चीनले उनको भनाईलाई गैरजिम्मेवार अभिव्यक्तिको संज्ञा दिएको छ ।

चीनको विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनिइङले भनिन्, ‘हामी क्यानडाले कानुनको शासन र चीनको न्यायिक सम्प्रभुताको सम्मान गर्ने आशा गर्दछौं ।’ उनले आगामी दिनमा यस्ता गैरजिम्मेवार अभिव्यक्ति नदिने विश्वास पनि व्यक्त गरेकी छन् ।

चीनको एक अदालतले सोमबार क्यानडाका रोबर्ड ल्योड शिलेनबर्गलाई लागूऔषध ओसार पसारको आरोपमा मृत्युदण्डको सजाय सुनाएको थियो । शिलेनबर्गलाई सन् २०१४ मा लियाओनिंगबाट पक्राउ गरिएको थियो । यसअघि उनलाई १५ वर्षको जेल सजाय सुनाइएको थियो । चीनको पछिल्लो फैसलालाई क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले मनोमानी भएको प्रतिक्रिया दिएका छन् ।

क्यानडाका नागरिकमाथि मृत्युदण्डको फैसला भएपछि क्यानडा सरकारले आफ्ना नागरिकलाई चीनको भ्रमण गर्दा अत्याधिक सावधानी अपनाउन आग्रह गरेको छ । चीनमा मृत्युदण्डको सजाय सुनाइएका क्यानाडेली नागरिक शिलेनबर्गको परिवारले मृत्युदण्डको फैसलाप्रति प्रतिक्रिया दिँदै आफूहरूको सबैभन्दा भयानक त्रास सत्यमा परिणत भएको टिप्पणी गरेका छन् ।

गत नोभेम्बरमा १५ वर्षको कैद सजाय सुनाइएका शिलेनबर्गलाई लागुऔषध ओसारपसारको मुद्दामा मृत्युदण्डको सजाय दिइएपछि यसले दुई देशबीचको सम्बन्ध थप बिगार्ने सम्भावना बढेको छ ।

‘यो एकदमै डरलाग्दो, दुर्भाग्यपूर्ण र दुःखद स्थिति हो,’ शेलेनबर्गकी काकी लोरी नेल्सन–जोन्सले भनेकी छन्, ‘अहिले हाम्रो सबैभन्दा ठूलो डर सत्यजस्तो हुन पुगेको छ । उसलाई अहिले कस्तो महसुस भइरहेको होला र उसले के के सोच्दै होला त्यो कल्पना गर्न पनि मुस्किल छ ।’

क्यानडाका प्रधानमन्त्रीले जस्टिन ट्रुडोले भने यो फैसलाको भत्र्सना गरेका छन् । उनले भने, ‘चीनले मनलागी ढंगले मृत्युदण्डको सजाय सुनाइरहेको विषयप्रति हाम्रो सरकार गम्भीर रूपमा चिन्तित भइरहेको छ । यो प्रवृत्ति हाम्रा अन्तर्राष्ट्रिय मित्र तथा मित्रशक्तिहरूको लागि पनि चिन्ताको विषय हुनुपर्दछ ।’

यो फैसलाविरुद्ध पुनरावेदन गर्न शिलेनबर्गलाई १५ दिनको समय दिइएको छ । अमेरिकी अनुरोधपछि चिनियाँ टेलिकम कम्पनी हुवावेकी वरिष्ठ अधिकारी क्यानडामा पक्राउ गरिएलगत्तै शेलेनबर्गको मुद्दालाई चीनमा अनपेक्षित रूपमा पुनरावलोकन गर्न थालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्