‘सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा छ’



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माण गर्ने अभियानमा रहेको बताएका छन् । २१औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले उक्त विचार व्यक्त गरेका हुन् ।

सन्देशमा उनले भनेका छन्, ‘हामी सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा छौं, भूकम्प प्रभावित क्षेत्रमा सबै खालका संरचना भूकम्पप्रतिरोधी र सुरक्षित बनाउँदैछौंं ।’

२०७२ सालको भूकम्पबाट क्षति पुगेका संरचना पुनःनिर्माणमा सरकार जुटेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कोही पनि भूकम्पपीडित नछुटुन् भनेर भूमिहीन, ऐलानी र पर्ति जमिनमा बसोबास गरिरहेका परिवारका लागि समेत सुरक्षित आवास पुनःनिर्माण गर्ने व्यवस्था गरिएको बताएका छन् ।

‘पैसा नभएर घर निर्माण गर्न नसकेकालाई प्राथमिकतामा राखेर सहुलियत कर्जा उपलब्ध गराउन सहुलियत कर्जासम्बन्धी एकीकृत कार्यविधि जारी गरी लागूसमेत गरिसकिएको छ,’ प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ, ‘ज्येष्ठ नागरिक, व्यक्ति र बालबालिकाका लागि थप ५० हजार अनुदान दिने र भूकम्पप्रतिरोधी घर पुनःनिर्माणका लागि प्राविधिक सहयोग उपलब्ध गराउने प्रक्रिया सुरु भइसकेको छ ।’

पुनःनिर्माणको काम दिगो होस् भनेर सरकारले स्थानीय तहलाई स्रोत साधन र कार्य जिम्मेवारीसमेत हस्तान्तरण गरिरहेको र पुरातात्विक सम्पदाको पुनःनिर्माण गर्दा परम्परागत मौलिकता कायम गर्न विशेष ध्यान दिइएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

सुरक्षित, भूकम्प प्रतिरोधी र मौलिक शैलीका सम्पदा निर्माण गर्नुपर्नेमा प्रधानमन्त्रीले जाड दिएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत उपत्यका र बाहिरका ६ परम्परागत बस्तीलाई मौलिक शैलीमा पुनःनिर्माण गर्न थप ५० हजार अनुदान दिने व्यवस्था मिलाइएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

काठमाडौं उपत्यका र बाहिरका परम्परागत बस्तीका लागि गुरुयोजना तयार गरिएको, तीन तहको सरकार, स्थानीय समुदायको सहभागिता र स्वामित्वमा पुनःनिर्माणका काम भइरहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

भूकम्प प्रभावित क्षेत्रलाई मात्र होइन, सिंगो मुलुकलाई सुरक्षित र भूकम्पप्रतिरोधी बनाउन प्रदेश र स्थानीय तहमा विपद् व्यवस्थापनका लागि आवश्यक जनशक्ति, संरचना र योजना तर्जुमा गर्दै प्रभावकारी रूपमा कार्यान्वयन गरिएको जानकारी प्रधानमन्त्रीले दिएका छन् ।

कुनै पनि प्रकारको विपद्लाई न्यूनीकरण गर्न र कुनै पनि विपद्को सामना गर्न हामीले पूर्वतयारी कार्यमा विशेष ध्यान दिनै पर्छ–सन्देशमा भनिएको छ ।

विसं २०७२ वैशाख १२ गते गएको भूकम्पबाट भएका क्षति र त्यसको पुनःनिर्माणको अनुभव तथा ज्ञानलाई आत्मसात गर्दै भूकम्पबाट उत्पन्न हुने जोखिम न्यूनीकरणको दिशामा सरकार अग्रसर रहेको सन्देशमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्