धनगढी विमानस्थल विस्तार गर्छौ : मन्त्री भट्टराई



धनगढी : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले गुरुयोजना बमोजिम धनगढी विमानस्थल विस्तारको काम अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज आयोजित धनगढी विमानस्थलको गुरुयोजना प्रस्तुति कार्यक्रममा मन्त्री भट्टराईले भने, “विमानस्थल रहेको क्षेत्रका धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाले पनि आफ्नो लगानीको साझेदारी गरोस्, भोलि त्यसको आम्दानी पनि बाँडौँला ।”

उनले स्थानीयवासीले दिएका सुझावलाई समेटेर विमानस्थलको गुरुयोजनालाई अन्तिम रूप दिने बताए । प्रदेशको राजधानी शहरमा रहेका विमानस्थललाई सक्ने जति विस्तार र स्तरोन्नतिको काम गर्ने सरकारको नीति रहेको बताउँदै भने, “यसमा कुनै कञ्जुस्याइँ नगरीकन सकेको काम गर्न पहिलो प्राथमिकता दिएका छौँ ।” बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल र कञ्चनपुरको मझगाउँ विमानस्थल पुन : संचालन गर्ने कामसमेत प्राथमिकतामा रहेको उनले जानकारी दिए । भारतसँग महेन्द्रनगर, नेपालगञ्ज र भैरहवा नाका हुँदै हवाई ‘रुट’ माग गरिएको बताए । भैरहवाका हकमा भारत सहमत भैसकेको भए पनि नेपालगञ्ज र महेन्द्रनगरको विषयमा छलफल चलिरहेको जानकारी दिए ।

सांसद नारदमुनी रानाले विमानस्थलको विस्तारको काम अहिलेकै सरकारको नेतृत्वमा पूरा हुने विश्वास व्यक्त गरे । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले प्रदेशको विकासका लागि महत्व राख्ने धनगढी विमानस्थलको विस्तार र स्तरोन्नतिको कामका लागि ढिलाइ गर्न नहुने बताईन् ।

कार्यक्रममा कन्सल्टेन्ट इञ्जिनीयर गुरुदत्त अधिकारीले विमानस्थलको विस्तार तथा स्तरोन्नतिका लागि बनाइएको गुरुयोजना प्रस्तुत गरे । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले विमानस्थल विस्तारको कामका लागि झण्डै २२ अर्ब बजेट चाहिने बताए ।

सहभागीहरुले विमानस्थलको स्तरोन्नति र विस्तार गर्दै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकारले प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए । विमानस्थलको विस्तार तथा स्तरोन्नतीका लागि पहिलो, दोस्रो र तेस्रो चरणमा गरी बीसवर्षे अवधिको गुरुयोजना तयार पारिएको छ ।

प्रस्तावित गुरुयोजनामा धनगढी विमानस्थल विस्तारकार्यका लागि थप झण्डै २२७ बिघा जग्गा आवश्यक पर्ने उल्लेख गरिएको छ । यसका लागि विमानस्थलको दक्षिणतर्फको केही क्षेत्रफलको जग्गा अधिग्रहण गर्नुपर्ने देखिएकोमा उत्तर, उत्तरपूर्व, उत्तरपश्चिमतर्फको बढी क्षेत्रफलको जग्गा अधिग्रहण गर्नुपर्ने गुरुयोजनामा समेटिएको छ ।

यसैगरी विमानस्थलको २ हजार ५५० मिटर लामो र ४५ मिटर चौडा नयाँ रनवे (धावनमार्ग) बनाउने, हालको धावनमार्गलाई जहाजको ‘ट्याक्सी वे’को रूपमा प्रयोग गर्ने, न्यारोबडी खालका जहाजको उडान र अवतरण गर्न सक्ने बनाउने, नयाँ टर्मिनल भवनलगायतका संरचना बनाउनुपर्ने पनि प्रस्तावित गुरुयोजनामा समेटिएको छ ।

हाल ७० बिघा जग्गा ओगटेको धनगढी विमानस्थल लामो धावनमार्गका दृष्टिमा (एक हजार ८०० मिटर लामो) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको दोस्रो हो । यो विमानस्थलमा हाल काठमाडौँ-धनगढी-काठमाडौँसम्म दैनिक हवाईसेवाको सुविधा रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्