अब देशमा संवैधानिक संकट रहँदैन : अध्यक्ष प्रचण्ड



हेटौँडा : पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा संवैधानिक संकट अब नरहने बताएका छन। मकवानपुरको पूर्वीवागमती गाउँपलिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रचण्डले संविधान अनुसार असोज १३ गतेभित्र बनाइसक्नुपर्ने ऐन, कानुन निर्माण भइसकेको बताउँदै अब देशमा कुनै पनि किसिमको संबैधानिक संकट अब नरहने बताएका हुन्। 

 

‘संवैधानिक व्यवस्था अनुसार ऐन, कानुन बनाउनु अहिलको सरकारको पहिलो प्राथमिकता थियो । हामीले उक्त अभिभार पूरा गरेका छौं। त्यसकारण हामीले विकास निर्माणको काम गर्न पाएनौं। हामीले संवैधानिक व्यवस्थाअनुसार काम गरेकाले अब देशमा कुनै पनि किसिमको संवैधानिक अड्चन आउँदैन।’

 

 उनले देशमा संवैधानिक संकट नआओस् भनेर नेकपाको सरकार गम्भीर भएर कानुन निर्माण गरेको र अब संविधान पूर्णरूपमा कायान्वयनको दिशामा अगाडि बढेको बताए। उनले अब सरकार विकास निर्माणमा केन्द्रित हुने बताए।

 

 ‘हामीले भनेअनुसार हक अधिकार संविधानमै लेखिएका छन्। हामीले प्राप्त गरेको हक, अधिकार र संघीयतालाई अब हामीले पूर्णरुपमा कर्तव्य निर्वाह गर्दै अगाडि बढ्न जरुरी रहेको छ’, उनले भने।

 

 उनले अब समृद्धिको बाटो कोर्न सुरु भएको र त्यसका लागि हामीले प्राप्त गरेको अधिकारको सदुपयोग गर्दै अगाडि बढ्न जरुरी रहेको औंल्याए।

 

प्रतिक्रिया दिनुहोस्