रत्नजित र नवीनको जोडी विजयी



विराटनगर : नेपाली सेनाका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडी दुर्गादेवी दुलाल सुन्दरहरैंचा अन्तर्राष्ट्रिय आमन्त्रण खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष जोडीतर्फ विजयी भएको छ । तामाङ र श्रेष्ठको जोडीले एपीएफका दीपेश धामी र विजित थापा मगरको जोडीलाई २१–१८ र २५–२३ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो । 

विजयी खेलाडीहरूले एक लाख नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । उपविजेता टोलीले नगद ५० हजार, ट्रफी र प्रमाण पत्रमा चित्त बुझायो । यस्तै तेस्रो स्थान प्राप्त गर्नेले १५ हजार सहित मेडल ट्रफी र प्रमाण पत्र प्राप्त गरे । 

अन्य खेलहरूमा मिक्स युगल, पुरुष एकल र मास्टर्स जोडी तर्फको प्रतियोगिता मङ्गलवार नै सम्पन्न भएका थिए । मिक्स युगल तर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद ५० हजार, २५ हजार र १० हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । 

पुरुष एकल तर्फ विजयी शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले नगद २० हजार, १० हजार र पाँच हजार प्राप्त गरे । मास्टर्सतर्फ शीर्ष तीनका खेलाडीले क्रमशः ३५ हजार, १५ हजार र सात हजारका साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

विजयी खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल, नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, आयोजक संस्थाका अध्यक्ष भोलेश्वर दुलाललगायतले पुरस्कार वितरण गरे ।

ब्याडमिन्टन हलको उद्घाटन

यसैबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले मोरङको सुन्दरहरैंचा नगरपालिका ८ सलकपुरमा निर्माण गरिएको कभर्डहलको बुधबार उद्घाटन गरे । करिब दुई करोड ५० लाख लागतमा बनाइएको हलमा दुई ब्याडमिन्टन कोर्टका साथै स्टेज निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्