१०८ फिट अग्लो व्यासमूर्ति बनाउन साढे ३ करोड संकलन



तनहुँ : कूल १०८ फिट अग्लो व्यासमूर्ति निर्माणका लागि जनस्तरबाट रकम संकलन गर्ने उद्देश्यसहित तनहुँको दमौलीमा आयोजना गरिएको महायज्ञबाट करिब ३ करोड ५० लाख संकलन भएको छ ।

व्यासक्षेत्र शिवपञ्चायन विकास कोषको आयोजनामा माघ २० गतेबाट शुरु भएको महायज्ञबाट करिब साढे ३ करोड रकम संकलन भएको हो । महायज्ञबाट अनुमान गरे बमोजिम नै रकम संकलन भएको विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिए । “आफ्नो ठाउँको विकासका लागि स्थानीयवासी नै जागरुक भएर लाग्नुपर्छ भन्ने लक्ष्य बोकेर महायज्ञ आयोजना गरेका थियौँ” उनले भने, “महायज्ञमा सबै क्षेत्रबाट प्रतिनिधित्व भएको महसुस भएको छ ।”

व्यासको जन्मभूमि दमौलीलाई विश्वमाझ परिचित गराउने उद्देश्यले सो मूर्ति बनाउन खोजिएको हो । मूर्ति बनाउन आवश्यक पर्ने तामाका लागि स्थानीयवासीको घर-घरमा पुग्ने अभियान सञ्चालन गरिनेछ । “पुराना तामाका सामग्री संकलन गर्न घरदैलो अभियान सञ्चालन गरिनेछ, इट्टा व्यवसायी, ढुङ्गा व्यवसायीसँग पनि निर्माण सामग्री सहयोग माग गर्ने योजना रहेको छ”, श्रेष्ठ भने ।

महायज्ञको आज समापन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले मूर्ति निर्माणका लागि प्रदेश सरकारको तर्फबाट पनि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए । व्यासमूर्ति निर्माणका लागि बनाइएको गुरुयोजना अनुसार सबै संरचना बनाउन ६४ करोड खर्च हुनेछ । मूर्ति निर्माणको थालनी विसं २०६८ देखि भएको थियो । मूर्ति निर्माणका लागि रकम संकलन गर्न सो बेला आयोजना गरिएको महायज्ञबाट करिब ७० लाख संकलन भएको थियो ।

उक्त रकममध्ये १० लाखको लागतमा नमूना मूर्ति निर्माण गरिएको छ, जुन व्यास नगरपालिकाको हाताभित्र राखिएको छ । बाँकी रकमले मूर्तिको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मूर्ति र पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै ३४ करोड १६ लाख ७६ हजार ९९३ लाग्ने अनुमान गरिएको छ भने अन्य संरचना निर्माणका लागि २८ करोड ६८ लाख २८ हजार २१७ लाग्ने अनुमान रहेको विकास कोषका महासचिव विष्णुभक्त सिग्देलले जानकारी दिए ।

निर्माण शुरु भएको ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको र पहिलो वर्ष मात्रै रु सात करोड खर्च हुने अनुमान छ । व्यासको मूर्ति अड्याउनका लागि तीन तल्लाको पेडेस्टल (स्तम्भ) निर्माण गरिने छ । पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै डेढ वर्ष लाग्ने अनुमान गरिएको छ । व्यासमूर्ति निर्माणका ३० हजार किलो तामा आवश्यक पर्ने अनुमान छ । पेडेस्टल (स्तम्भ) भित्र संग्रहालय, पुस्तकालय हल प्रस्ताव गरिएको छ ।

गुरुयोजनाअनुसार व्यासको मूर्तिका अलावा प्रवेशद्वार, पार्किङ, टिकट काउण्टर, गार्ड घर, कोशेली घर, बिक्री कक्ष, धर्मशाला, प्रवचन हल, योग हल, समितिको सचिवालय बैठक कक्ष, संग्रहालय, वृत्तचित्र हल, व्यास पुस्तकालय, शौचालय, बगैँचाको साथ विश्राम घर, तलाउसहितको मत्स्यगन्धा पार्क, चमेनागृह, पूजारी घर, २७ वटा साना व्यासका मूर्तिहरु, व्यासका अनुयायीहरुको ५ साना प्रतिमाहरु र गणेश बसेर वेद लेखेको सानो मूर्ति प्रस्ताव गरिएको छ । यी सबै संरचना निर्माणका लागि ६० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्दछ । रासस

प्रतिक्रिया दिनुहोस्