बेलायती प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव असफल



काठमाडौं: बेलायती प्रधानमन्त्री टेरिजा मे विरुद्ध संसदमा ल्याइएको अविश्वास प्रस्ताव असफल भएको छ । विपक्षी लेबर पार्टीले प्रधानमन्त्री मे विरुद्ध अविश्वासको प्रस्ताव ल्याएको थियो ।

३२५ सांसदले सरकारलाई साथ दिए भने ३०६ सांसदले अविश्वास प्रस्तावको पक्षमा मतदान गरेका थिए । प्रधानमन्त्री मेले केवल १९ मतको अन्तरले सरकारलाई बचाउन सफल भइन ।

संसदले युरोपेली संघबाट ब्रिटेन अलग हुने प्रस्तावलाई बहुमतले अस्वीकृत गरेपछि विपक्षी लेबर पार्टीले प्रधानमन्त्री मे को सरकारले संसदमा विश्वास गुमाएको भन्दै प्रस्ताव दर्ता गराएको थियो । ब्रिटेनको संसदमा ६ घण्टाको छलफल पछि अविश्वास प्रस्तावमा मतदान भएको थियो ।

यस अघि ब्रेक्जिट प्रस्तावको विपक्षमा मतदान गरेका सत्तारुढ दलका सांसदले भने अविश्वासको प्रस्तावमा प्रधानमन्त्री मे कै पक्षमा मतदान गरेका थिए । अविश्वास प्रस्ताव असफल भएसँगै संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री मेले युरोपेली संघ छोड्नको लागि भएको जनमत संग्रहको नतिजा पालना गराउन र जनतासँग गरेको वाचा पूरा गर्नका लागि आफुले काम गरिरहने बताइन् ।

उनले सबै राजनीतिक दलका नेताहरुसँग ब्रेक्जिटको आगामी बाटो बाहिल्याउन सहयोगका लागि अपिल गरिन । सदनको पनि पर्याप्त समर्थन भएको र विचारयोग्य उपाय समाधान खोज्नुपर्ने उनको भनाइ थियो । उता प्रतिपक्षी नेताले जेरेमी कोर्बेनले भने कुनै पनि सकारात्मक बार्ता अघि प्रधानमन्त्री मे ले बे्रक्जिटको संभावना खारेज गर्नुपर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्