१४ हजार बालबालिकालाई दादुरा खोप दिने



इटहरी : इटहरी उपमहानगरमा फागुन १४ देखि २२ गतेसम्म दादुरा र रुवेलाविरुद्धको खोपका लागि तयारी तीव्र पारिएको छ ।

९ महिनादेखि ५ वर्षमुनिका १४ हजार २४७ बालबालिकालाई दादुरा र रुवेलाविरुद्धको खोप प्रदान गरिने छ । दादुरा र रुवेला खोप अभियानकै अवसरमा जन्मेदेखि ५ वर्षसम्मका १७ हजार ३४६ बालबालिकालाई पोलियो थोपासमेत खुवाइने कार्यक्रम रहेको उपमहानगर स्वास्थ्य संयोजक रामचरण चौधरीले बताए ।

इटहरीका ६४ स्थानमा खोप प्रदान गर्न २४ जनालाई तालिम दिई सकिएको छ । सबै वडामा अभिमुखीकरण कार्यक्रम गरिँदैछ । जन्मेदेखि ५ वर्षसम्मका बालबालिका रहेका सबै घरहरुमा खोपका लागि निम्तो कार्ड पुर्याइने सरोकारवालासँग गरिएको नगरस्तरीय अभिमुखीकरण कार्यक्रममा जनस्वास्थ्य निरीक्षक घनश्याम सिग्देलले बताए ।

खोप अभियानका लागि १८५ स्वयंसेवक परिचालन गरिने छ । कार्यक्रममा इटहरी अस्पतालका डा. मनिष शर्मा, स्वास्थ्यकर्मी रामकुमार धमला र जिल्ला जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स सिर्जना लिङथेपले रुवेला–दादुरा खोप अभियानको महत्वका बारेमा प्रकाश पारे ।

इटहरी उपमहानगर४ का अध्यक्ष चन्द्र भट्टराईले खोप अभियान सम्पन्न गर्न कार्यपालिकाले भरपुर सहयोग गर्ने बताए । सामाजिक विकास तथा स्वास्थ्य महाशाखा प्रमुख भोजकला दवाडीले बालबालिकाको स्वस्थ भविष्य सुनिश्चिताका लागि खोप अभियान सफल बनाउन सम्बन्धित सबै सरोकारपक्षसँग आग्रह गरे । रासस

प्रतिक्रिया दिनुहोस्