गुणस्तरीय शिक्षा वर्तमान आवश्यकता-उपसभामुख शर्मा



पोखरा : गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले गुणस्तरीय शिक्षा वर्तमानको आवश्यकता भएको बताएका छन् ।

पोखरा महानगरपालिका-१३ स्थित बेसलाईन बोडिङ स्कुलको २२ औंँ वार्षिकोत्सव एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले दक्ष तथा सीपमूलक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए ।
“समृद्ध नेपाल, सुखी नेपाली” राष्ट्रिय संकल्प पूरा गर्न सबैको साझा दायित्व भएको उल्लेख गर्दै उनले गुणस्तरीय शिक्षाका लागि विद्यार्थी, अभिभावक र शिक्षकको सामूहिक प्रयासको खाँचो औल्याए ।

उनले प्रदेश सरकारले विज्ञ समूहबीच छलफल गरी आवश्यक सुझाव र सल्लाह अनुसार शिक्षानीति तयार गर्नुपर्ने उल्लेख गर्दै व्यवहारिक एवं प्रविधियुक्त शिक्षामा जोड दिनुपर्ने बताए ।
विद्यालयका प्रबन्ध निर्देशक षडानन्द गौतमको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा समन्वय प्रमुख नारायणप्रसाद सुवेदी लगायतले शिक्षाको महत्वमाथि प्रकाश पारेका थिए ।

कक्षागत एवं अतिरिक्त क्रियाकलापमा विजयी छात्रछात्रालाई पुरस्कार वितरण गरिएको कार्यक्रममा विद्यार्थीद्वारा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्