देउवा निवासमा नेवि संघ कार्यकर्ताकाे धर्ना



काठमाडौं : नेपाल विद्यार्थी संघका कार्यकर्ताले बिहीबार बिहानैदेखि माउ पार्टी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा धर्ना दिएका छन् । म्याद समिएपछि पनि संघको केन्द्रीय कार्यसमितिलाई कामकाज चलाउने अधिकारी दिएको विरोधमा उनीहरु धर्ना दिन बूढानीलकण्ठस्थित देउवा निवास पुगेका हुन् ।

 

मोटरसाइकल ‍र्यालीसहित देउवा निवास पुगेका दर्जनौं नेता–कार्यकर्ताले ‘नेवि संघ जिन्दावाद’को नारा लगाएका छन् । केही कार्यकर्ता माइक्रो बससमेत रिजर्भ गरेर बूढानीलकण्ठ पुगेका छन् । कार्यकर्ताले धर्ना सुरु गरेपछि देउवा निवास वरपर सुरक्षाकर्मी बढाइएको छ । 

 

विधानअनुसार बुधबार राति १२ बजेपछि नेवि संघको म्याद सकिएको थियो तर कांग्रेसले तत्काललाई हालकै कार्यसमितिलाई निरन्तरता दिएको छ । पटकपटक म्याद थपिँदा पनि महाधिवेशन गर्न नसक्ने कार्यसमितिलाई निरन्तरता दिन नहुने भन्दै नेवि संघका केही नेता–कार्यकर्ता विरोधमा छन् ।

 

नेवि संघका उपाध्यक्षत्रय सञ्जयकुमार यादव, पुष्प शाही र विकास केसी, महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरु प्रकाश घिमिरे, अच्युत केसी र प्रेम जोशीले गत पुस २७ गते नै पदबाट राजनीनामा दिइसकेका छन् । उनीहरु पार्टी नेता रामचन्द्र पौडेलपक्षधर हुन् ।

प्रतिक्रिया दिनुहोस्