तीन एआईजीमा ६ को भिडन्त, को–को बन्लान ?



काठमाडौं : सरकारले प्रहरी महानिरीक्षक(आईजीपी)मा प्रहरी नायव महानिरीक्षक (डीआईजी) ठाकुर ज्ञवालीलाई नियुक्त गरेपनि उनीसँगैका अन्यले भने अहिले पनि अतिरिक्त प्रहरी महानिरीक्षक(एआईजी)मा बढुवा नहुँदा तारोबिनाको धानको बालामा चित्त बुझाउनु परेको छ

आईजीपीको काधमा धानको बालासहित दुई ताराको फुली हुन्छ भने डीआईजीको काँधमा धानको बाला मात्रै हुन्छ । सरकारले रिक्त तीन एआईजी पदमा बढुवा नगर्दा निमित्तको भरमा चलाउनुपर्ने अवस्था सिर्जना भएको छ । एआईजीले नेतृत्व गर्ने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा नेतृत्व नहुँदा आईजीपी ज्ञवालीको प्रमुख आतिथ्यतामा हालै ६४ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । एआईजी नहुँदा एसएसपी मुकुन्दराज आचार्यले प्रतिष्ठानको निमित्त कार्यकारी भएर चलाइरहेका छन् ।

वार्षिकोत्सव कार्यक्रममा प्रतिष्ठानको कार्यकारी प्रमुख नहुँदा सहभागी पूर्व आईजीपीहरुले समेत असजिलो मानेका थिए । त्यसो त प्रहरी मुख्यालयमा पनि एआईजी प्रमुख हुने अपराध अनुसन्धान विभाग र मानव श्रोत तथा प्रशासन विभाग पनि निमित्तकै भरमा चलिरहेको छ ।

आईजीपी ज्ञवालीले एआईजी बढुवा नहुन्जेलसम्मका लागि एआईजी प्रमुख हुने तीन ठाउँमा बढुवाको लाइनमा रहेका डीआईजीहरुलाई निमित्त दिने तयारी गरेको श्रोतको दाबी छ । श्रोतका अनुसार आईजीपी ज्ञवालीका नातेदार समेत रहेका डीआईजी सूर्य उपाध्यायलाई मानव श्रोत तथा प्रशासन विभाग र आईजीपीको प्रतिस्पर्धामा रहेका डीआईजी तारणी लम्साल र केन्द्रीय अनुसन्धा ब्यरोका प्रमुख डीआईजी निरज शाही मध्ये एकलाई प्रष्ठिानको जिम्मेवारी तयारी छ । त्यस्तै एआईजीका प्रवल दाबेदार डीआईजी शैलेस थापालाई प्रवक्ताकै जिम्मेवारीसहित सचिवालयमै राख्न र डीआईजी हरि पाललाई अपराध अनुसन्धान विभागको जिम्मेवारी दिने चर्चा मुख्यालयमा छ ।

नेपाल प्रहरीमा अहिले तीन एआईजीका साथै १८ डीआईजी पद रिक्त रहेको छ । ३० वर्षे सेवाहदका कारण आईजीपी सर्वेन्द्र खनालसहित उनीहरुले माघ २८ मा अनिवार्य अवकाश पाएका थिए । त्यसपछि ज्ञवाली आईजीपीमा नियुक्त भएका थिए । तीन एआईजीको लागि ६ डीआईजीहरु प्रतिस्पर्धामा रहेका छन् । नयाँ एआईजी नियुक्ति प्रकृया अगाडी बढाउने गृहकार्य शुरु हुनै लाग्दा एआईजी बन्नका लागि दौडधूप चलेको बताइन्छ । अहिले एआईजी बन्नका लागि डीआईजीहरु तारिणी लम्साल, सूर्य उपाध्याय र ९८औं ब्याचका डीआईजीहरु शैलेस थापा क्षेत्री, हरिबहादुर पाल, प्रद्युम्न कार्की निरजबहादुर शाही प्रतिस्पर्धामा रहेका छन् ।

एआईजीले कमाण्ड गर्ने अपराध अनुसन्धान विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मानव स्रोत तथा प्रशासन विभाग अहिले नेतृत्वविहीन अवस्थामा रहेको छ ।

डीआईजीले नेतृत्व गर्ने सुरक्षा परिषद र ५ प्रदेशमा प्रहरी नेतृत्वविहीन छ । प्रदेश–१ का प्रहरी प्रमुख डीआईजी ज्ञवाली आईजीपी भएपछि त्यहाँ पनि रिक्त रहेको छ । त्यस्तै बागमती, गण्डकी, कर्णाली र प्रदेश ५ का डीआईजीले पनि अवकाश पाएपछि ती प्रदेश पनि रिक्त रहेको छ ।

बढुवाको लागि प्रहरी नियमावली २०७१ अनुसार एआईजीको बढुवा सिफारिस समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र आईजीपी सदस्य सचिव रहेको तीन सदस्य हुने प्रावधान रहेको छ । नियमअनुसार एआईजी बढुवा नगरेसम्म डीआईजी बढुवा गर्न मिल्दैन । जसअनुसार पहिले एआईजी बढुवाको काम अगाडी बढाउनुपर्ने देखिन्छ ।

एआईजी बढुवाको लागि प्रहरी नियमावली २०७१ को परिच्छेद–४ अनुसार बढुवा समितिले सम्भाव्य उम्मेदवारहरू मध्ये सबैभन्दा बढी अंक पाउनेलाई सिफारिस गर्ने गर्छन । समितिले सिफारिस गरेको प्रहरी कर्मचारीको नामावली, कुल प्राप्ताङ्क नम्बरसहित सिफारिस सूची प्रकाशित गर्नुपर्ने हुन्छ । बढुवा समितिले गरेको सिफारिसलाई गृहमन्त्रीले मन्त्रीपरिषदमा पेश गर्ने र मन्त्रीपरिषदबाट पास गर्नुपर्ने हुन्छ ।

उता एआईजीहरु पुष्कर कार्की, ठूले राई र धिरु बस्नेतले अवकाश पाएका थिए । त्यस्तै डीआईजीहरु पिताम्बर अधिकारी, मनोज न्यौपाने, शेरबहादुर बस्नेत, बिनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, दीपक थापा, सुरेशबिक्रम शाह, महेशबिक्रम शाह, महेन्द्र पोखरेल, सुरज केसी, दिनेश अमात्य, केदार रिजाल, नारायणसिंह खड्का, कमल जिटी, दानसिंह बोहरा, पूर्णचन्द्र जोशी, हरिभक्त प्रजापति र रामप्रसाद श्रेष्ठले अवकाश पाएका थिए । एआईजीसहित २१ पद अहिले रिक्त अवस्थामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्