नेपाली जनताको माया र स्नेहले बाँचेको छु : प्रम ओली



भद्रपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको स्नेह, माया र ममताका कारण आफू चारपटक ‘अपरेसन’ गरेर पनि बाँचेर काम गर्न सफल भइरहेको बताए ।

आज गृहनगर झापाको दमकमा आयोजित कार्यक्रममा प्रम ओलीले जनताको शुभकामना र शुभेच्छाले यस देशलाई भ्रष्टाचार रोक्दै विकास र समृद्धिको बाटोमा अगाडि बढाउनका निम्ति आफू बाँचेको बताए ।

उनले आफू ४६ वर्षदेखि रोगसँग लडिरहेको उल्लेख गर्दै रोग, प्रतिक्रियावादी र जनविरोधीसँग लड्न डर नलाग्ने बताए । आफू बिरामी भए पनि आत्मविश्वास दह्रो भएकाले अझै केही वर्ष बाँचेर नेपाली जनताको हितमा काम गर्ने उनको भनाइ थियो ।

“यस क्षेत्रका जनताप्रति कृतज्ञता र आभार व्यक्त गर्छु”, उनले भने, “तपाईंहरुकै कारण देश र जनताका निम्ति काम गर्न पाएँ, घरघरमा गएर बालबालिकालाई मेरो स्नेह सुनाइदिनोस् र ज्येष्ठ नागरिक, साथीभाइ सबैलाई मेरो नमस्कार सुनाइदिनोस् ।”

आफूले धेरै वर्षअघि दमक नगरपालिकामा चक्रपथ बनाउने सपना देखेको र आज पूरा भएको उनले बताए । उनले देशले विकासको बाटो लिएको बताउँदै आ-आफ्ना स्थानबाट आत्मविश्वास र उत्साहका साथ सबैलाई जुट्न आग्रह गरे । रासस

प्रतिक्रिया दिनुहोस्