रक्षामन्त्रीले सेनाभित्र छानबिन गर्नुपर्छ भनेपछि सैनिक मुख्यालयमा हलचल



काठमाडौं : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनाभित्र भएको अनियमितताको विषयमा छानबिन गर्नुपर्छ भन्दा सैनिक मुख्यालयमा हलचल पैदा भएको छ ।

नेपाली सेनाभित्र भइरहेको भ्रष्टाचारका विभिन्न काण्डहरु बाहिर आएपछि विभागीय मन्त्री पोखरेलले नेपाली सेनाभित्र भइरहेको बेथितिमाथि छानबिन गर्ने बताएका हुन् । हिजो (आइतबार)देखि शुरु भएको पृतनापति समन्वयात्मक बैठक २०७६ को शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणका लागि स्पष्ट कार्यदिशासहित अगाडी बढिरहेको बताउँदै भ्रष्टाचार छानबिनमा रक्षा मन्त्रालयको पूर्ण सहयोग रहने बताइरहँदा सैनिक अधिकारीबीच कानेखुसी पनि चलेको बताइन्छ ।

नेपाली सेनाभित्र शैक्षिक प्रमाणपत्रदेखि नागरिकताको मिति समेत सच्याएर जागिर खाने प्रवृत्तिमाथि कटाक्ष गर्दै रक्षामन्त्री पोखरेलले नागरिकता तथा शैक्षिक प्रमाणपत्र, भर्ना छनौट र आर्थिक अनियमितताका विषयमा छानबिन र कारबाहीलाई अगाडी बढाउने कुरा गर्दा उपस्थित केही सैनिक अधिकारीहरुले असजिलो महसुस समेत गरेको दृश्य देख्न सकिन्थ्यो ।

यसरी सैनिक मुख्यालयमै पुगेर विभागीय मन्त्रीले सैनिकभित्र देखिएको विभिन्न खालको अराजकतालाई रोक्नको लागि निर्देशन दिएपछि सैनिक मुख्यालयभित्र हलचल पैदा भएको हो । यसअघि सैनिक मुख्यालयभित्र हुने गरेको अनियमितताको विषयमा समाचार आउने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्