६ जना छात्रामाथि पटक–पटक यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ



झापा : आफैँले पढाएको विद्यालयका विद्यार्थीमाथि कुदृष्टि मात्र नलगाई यौनदुव्र्यवहार गर्ने शिक्षक पक्राउ परेका छन् । ६ जना छात्रामाथि पटक–पटक यौन दुर्व्यवहार गरेको आरोपमा बालमिकी शिक्षा सदनका शिक्षक २१ वर्षीय नरेन्द्र थापालाई इलाका प्रहरी कार्यालय धुलाबारीले पक्राउ गरी मुद्दा दर्ता गराएको हो ।

अविवाहित शिक्षक थापाले कक्षा ४ मा अध्ययनरत १० – ११ वर्षीया ६ जना बालिकालाई विभिन्न मितिमा पटक – पटक यौन दुरव्यवहार गरेको आरोप छ ।

पहिलो घटना ०७५ चैत्र २१ गते शिक्षक थापाले उनीहरुमाथि यौन दुव्र्यवहार गरेको पीडितका परिवारको दाबी छ । त्यसैगरी ०७६ असोज १३ गते पनि उनले यौनदुर्व्यवहार गरेको आरोप छ । त्यसैगरी माघ १४ गते पटक – पटक बालिकाहरुको संवेदनशिल अङ्गमा हात प्रयोग गर्दै आइरहेको अभिभावकले आरोप लगाएका छन् । उनको दुर्व्यवहार सहन नसकेर एकजना बालिका स्कुल जान नमानेपछि अभिभावकले सोदपुछ गर्दा बालिकाले घटना बताएपछि एकपछि अर्को हुँदै शिक्षक थापाको कर्तुत वाहिर आएको थियो । थापाले मुख थुनेर संवेदनशील अङ्गमा चलाउने गरेको बालिकाले सुनाएकी थिइन् ।

बालिकाका ६ जना अभिभावकले फागुन २ गते उजुरी दिएपछि सोही दिन पक्राउ गरी इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले बताए । विद्यालयमा र ट्युसन पढाउने क्रममा थापाले बालिकाहरुमाथि यौन दुव्र्यवहार गर्दै आइरहेको उजुरीमा पाइएको उनले जानकारी दिए ।

पक्राउ परेकै दिनबाट लागूहुने गरी अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको उनले जनाए । बाल यौन दुर्व्यवहार कसुरमा ६ जना पीडित परिवारले दिएको उजुरीका आधारमा मुद्दा दर्ता गरिएको उनको भनाइ छ । बालिकाको स्वास्थ्य चेकजाँच गरी रिपोर्ट भने आउन बाँकी रहेको वुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्