प्रहरीभित्र चरम गुटबन्दी एक डीआईजीलाई रोक्न चारको चलखेल



काठमाडौं : नेपाल प्रहरीभित्र ठाकुर ज्ञवाली प्रहरी निरीक्षक (आईजीपी) भएपछि उनीपछिको भावी आईजीपीको खोजी अहिलेदेखि नै शुरु भएको छ । आईजीपी ज्ञवाली आगामी साउनदेखि अवकाश पाउँदैछन् । भावी आईजीपीको लागि सबैभन्दा पहिलो एआईजी जो हुन्छन् । उनी नै आईजीपी बन्ने भएका कारण एआईजीका लागि दौडधूप शुरु भएको छ ।

रिक्त तीन एआईजीमा हालका बरिष्ठ डीआईजी तारणी लम्साल बन्ने पक्का देखिएको छ । तर उनी पनि ज्ञवालीसँगै बिदा हुने भएका कारण आईजीपी बन्न पाउने छैनन् । त्यस्तै एआईजी बन्नका लागि जुनियर डीआईजी विश्वराज पोखरेले चलखेल गर्न थालेपछि उनको चलखेललाई रोक्न चार डीआईजीहरु लागिपरेका छन् । यसरी गुट नै बनाएर तीव्र चलखेलमा लागेपछि अहिले यस विषयले प्रहरी मुख्यालयलाई हलचल पैदा गराएको छ ।

यसरी पोखरेलले आफूहरुको ब्याच नै बर्बाद बनाउने अवस्था आएको भन्दै चार सिनियर डीआईजीबीच एकता भएको हो । प्रहरीको ९१औँ टोलीका डीआईजीहरु शैलेश थापा क्षेत्री, हरि पाल, नीरज शाही र प्रद्युम्न कार्कीले गठबन्धन बनाएका हुन् ।

तीनमध्ये एकमा लम्साल भएपछि बाँकी दुई एआईजी बढुवामा जो बरिष्ठ हुन्छ त्यो नै भावी आईजीपीको दाबेदार हुने हुनाले आईजीपीको भन्दा एआईजी बन्न रस्साकस्सी चलेको हो । पोखरेलले असारपछि आईजीपी बन्नका लागि चलखेल शुरु गरेपछि चार डीआईजीको गठबन्धन नै भएको बताइन्छ ।

उता भावी आईजीपीका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरादेखि अख्तियारका प्रमुख आयुक्त नविन घिमिरे हुँदै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विशेष चासो देखाएपछि प्रहरी मुख्यालयमा हलचल पैदा भएको छ ।

प्रधानन्यायाधीश जबरा, प्रमुख आयुक्त घिमिरे र रक्षामन्त्री पोखरेलले प्रहरी संगठन नै तहसनहस हुनेगरी कनिष्ठ डीआईजीलाई भावी आईजीपी बनाउन सेटिङमा लागेपछि बरिष्ठ प्रहरी अधिकृतहरु असन्तुष्ट बन्न थालेका छन् । उच्चश्रोतका अनुसार प्रधानन्यायाधीश, प्रमुख आयुक्त र रक्षामन्त्रीले हाल महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेललाई च्याप्दै प्रहरी संगठनको प्रकृया समेत खलबलाउनेगरी भावी आईजीपी बनाउन अहिले नै एआईजीमा बढुवा गर्न दवाव दिन थालेपछि बरिष्ठ प्रहरीहरु असन्तुष्ट बनेका हुन् ।

बढुवामा चित्त नबुझेमा अदालतको ढोका ढकढक्याउन जाने ठाउँका प्रधानन्यायाधीश नै यो खेलमा लागेपछि आलोचना शुरु भएको छ भने गृहको लामो अनुभव भएका प्रमुख आयुक्त घिमिरेले प्रहरी संगठनमा गलत नजिर बस्नेगरी पोखरेललाई च्याप्नुलाई आश्चर्यका रुपमा लिइएको छ । त्यस्तै लामो समयदेखि नेपाली सेनामा रिक्त रथी बढुवा नभएको भन्दै सैनिक मुख्यालयमा असन्तुष्टीका स्वरहरु सुनिएपनि त्यसबारे मौन बस्दै आएका उपप्रधान एवम् रक्षामन्त्री पोखरेलले आफ्नो बन्धु भन्दै डीआईजी पोखरेललाई च्यापेको गृहमन्त्रालय परिसरमा सुन्न पाइन्छ ।

अहिले बरिष्ठताका आधारमा ६ जना डीआईजीहरुमध्ये एक जना आईजीपी हुनेछन् भने ५ जनाबाट तीन एआईजी बन्नेछन् । यसका लागि बरिष्ठताका आधारमा एक नम्बरमा डीआइजी ज्ञवाली छन् भने दुई नम्बरमा लम्साल, तीनमा शैलेश थापा क्षेत्री, चारमा हरिबहादुर पाल, पाँचमा प्रधुम्न कार्की र ६ नम्बरमा सूर्य उपाध्याय रहेका छन् ।

तर, आफूभन्दा बरिष्ठलाई पछि पार्दै डीआईजी पोखरेल एआईजी बन्न विभन्नि शक्तिकेन्द्र धाइरहेका छन् । माथि उल्लेखित ६ जना डीआईजीहरु भन्दा ११ महिनापछि प्रहरी सेवामा नियुक्ति बुझ्दै प्रवेश गरेका पोखरेल उनीहरुभन्दा ८ महिनापछि डीआईजीमा बढुवा भएका हुन् । त्यो पनि एसएसपी वीरेन्द्र श्रेष्ठ र घनश्याम अर्यालहरुजस्ता आधा दर्जन बरिष्ठ एसएसपीहरुलाई पछि पार्दै रक्षामन्त्री पोखरेलको दवावमा डीआईजीमा बढुवा हुन पुगेका हुन् ।

उनीभन्दा बरिष्ठ एसएसपीहरु अहिले पनि एसएसपीमै थन्किएर बसेका छन् । तर उनी कनिष्ठ भएपनि बरिष्ठहरुलाई पछि पार्दै डीआईजी बन्न सफल भए । यस घटनाबाट उत्साहित बनेका पोखरेल त्यसैगरी नै एआईजी बन्ने खेलमा लागेका छन् । यसका लागि विभिन्न शक्तिकेन्द्र र नेताहरुको घरघरमा पुगेर ढोका ढकढक्याएका पोखरेललाई प्रधानन्यायाधीश, प्रमुख आयुक्त जस्ता ब्याक्तिहरुले पनि बढुवा गर्न दवाव दिनुलाई आश्चर्यका रुपमा लिइएको छ ।

प्रहरी संगठनलाई नीतिनियम र पद्धतिअनुसार हिडाउन निर्देशन दिनेहरु नै नीति नियम र पद्धति भत्काउन लागेपछि यसले कस्तो सन्देश प्रवाह गर्छ भनेर प्रहरी मुख्यालयमा कानेखुसी चल्न थालेको छ । रक्षामन्त्री पोखरेलले च्याप्दै आएका डिआइजी पोखरेल तत्कालिन डीआईजी नवराज सिलवाललाई पक्राउ गर्ने सर्तसहित देउवा सरकारले महानगरीय प्रहरी परिसरको प्रमुख बनाएर त्यसबेला पठाएको थियो । त्यसबेला उनले सिलवाललाई दिएको मानसिक यातना अहिले र्सांसद बनेका सिलवालको आँखामा झलझली देखिन्छ ।

एकातिर सधैभरी नेपाली कांग्रेसको सेवा गरेका र अर्कोतिर तत्कालिन डीआईजीलाई मानसिक यातना दिनेगरी गतिविधि गरेका डीआईजी पोखरेल यसैपनि आईजीपी बन्ने लाइनमा छन् । तर उनी वर्षदिन अगाडी नै फास्ट ट्र्याकबाट आईजीपी बन्न संवैधानिक अंंगका प्रमुखहरुलाई नै परिचालित गर्न थालेका छन् ।

त्यसो त सबै क्षेत्रमा कानुन र थिति बसाल्ने बताउँदै आएको नेकपाको यो सरकारले बरिष्ठता मिचेर स्वाट्टै पोखरेललाई अगाडी बढाउँदा नैतिक प्रश्न पनि उठ्नेछ । किनकि पहिलो नम्बरमा रहेका तत्कालिन डीआईजी सिलवाललाई देउवा सरकारले बढुवा नगर्दा नेकपाले सदन तताएको थियो । यस विषयमा धेरै चर्चा परिचर्चा पनि भएका थिए ।

तत्कालिन एमालेले यो विषयलाई ठूलो मुद्दा पनि बनाएको थियो । जुनबेला रक्षामन्त्री पोखरेल एमालेका महासचिव थिए । त्यसबेला नीतिनियम र पद्धतिको कुरा उठाउने पोखरेल अहिले नीतिनियम र पद्धति भत्काउनेगरी विशेष चासो लिएपछि प्रहरी अधिकारीहरु असन्तुष्ट बन्न पुगेका हुन् ।

यसरी जुनियर डीआईजीले आफ्नो दुनो सोझ्याउन थालेपछि उनलाई जसरी पनि रोक्ने भन्दै डीआईजीहरु लागिपरेका हुन । उनीहरुले अनौपचारिक बैठक बसेर यस्तो रणनीति बनाएको खुलासा भएको छ ।

प्रहरीमा बेला–बेलामा यस्ता गठबन्धन बन्ने गर्दछ चल्ने गरेको छ । केही वर्ष अगाडी नवराज सिलवाल र जयबहादुर चन्दले गठबन्धन बनाएका थिए । तर उनीहरुको गठबन्धन आईजीपी बन्ने बेलामा छताछुल्ल भएको थियो । यसअघि सर्वेन्द्र खनाल र पुष्कर कार्कीबीच सम्बन्ध राम्रो हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्