‘समृद्धिका लागि मिडियालाई सबल बनाउनुपर्छ’-सरोकारवाला



सुर्खेत : कर्णाली प्रदेशका सरोकारवालाले प्रदेशको समृद्धिका लागि सञ्चारमाध्यम सबल हुनुपर्ने बताएका छन् ।

उनीहरुले मिडिया बलियो भए मात्र प्रदेशको समृद्धि हुने भएकाले त्यसतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताएका हुन् । राष्ट्रिय समाचार समितिको ५९ औँ स्थापना दिवसका अवसरमा प्रदेश कार्यालयले आयोजना गरेको ‘समृद्ध प्राप्तिमा सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तक्र्रियाका वक्ताले त्यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्राध्यापक युवराज शर्माले मिडियालाई समृद्ध बनाउने कार्यक्रम ल्याइनुपर्ने बताउँदै भने, “सरकारले मिडियालाई सबल बनाउनुपर्छ अनि मात्र मिडियाले प्रदेश समृद्ध बनाउँन सक्छ, मिडिया नै कमजोर भयो भने कसरी अगाडि बढ्न कठिन हुन्छ ।”

कर्णाली पत्र दैनिकका सम्पादक नवराज महतराले कर्णाली प्रदेशबाट छुट्टै बुलेटिन निकाल्नु पर्नेमा जोड दिए । उनले राससले आफूलाई परिमार्जन गर्नुका साथै खोजमूलक समाचारलाई प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले सञ्चारमाध्यम बलियो भए मात्र सरकार बलियो हुने बताए । सरकारले मिडियामैत्री कानून ल्याउनु पर्ने बताए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पत्रकारिता जहिले पनि राष्ट्र र जनताका पक्षमा उभिएर काम गर्नुपर्नेमा जोड दिए । नागरिकका पक्षमा आवाज उठाउँदै राष्ट्रलाई बलियो बनाउनमा मिडिया लाग्ने गरेको उनले बताए । उनले भने, “पत्रकार कसैका विरुद्धमा होइन गलत कामका विरुद्धमा लाग्नुपर्छ”, “त्यसैले पत्रकारले सधै नागरिककै पक्षमा आवाज उठाउनुपर्छ ।”
कर्णाली प्रदेश योजना आयोगका सदस्य दीपेन्द्र रोकायले मिडियाले जागरण ल्याएमा मात्र सरकार बलियो हुने बताए ।

समुदायमा जागरण ल्याउन मिडियाको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले निरन्तरता दिनुपर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस्