वामदेव गौतमविरुद्ध नरेन्द्रजंग पिटर उत्रने 



बाँके : पार्टी तहमा कमजोर मानिएका जननिर्वाचित विभिन्न सांसदलाई प्रलोभनमा पारी चोर दुलोको प्रयोग गरी संघीय संसद्मा छिर्न खोज्दै गरेका नेकपाका प्रभावशाली नेता वामदेव गौतमलाई फेरि अर्को झट्का लागेको छ । 

 

गौतमको उम्मेदवारी डाल्पा, रुकुमपूर्व, प्युठान, दैलेखपछि बाँके ३ मा चर्चा चलाइएको छ । यदि यो क्षेत्रमा गौतम आए पुराना बुद्धिजीवी नेता एवं लेखक पत्रकार नरेन्द्रजङ पिटरले स्वतन्त्र उम्मेदवारी दिने बताएका छन् । 

 

‘यदि बाँके क्षेत्र नं ३ मा जननिर्वाचित प्रतिनिधि कमरेड नन्दलाल रोकायलाई अपमानित गरी हटाएर अन्य कुनै नेकपाका नेता संसदीय चोरदुलोबाट छिर्न चाहन्छन् भने म (नरेन्द्रजंग पिटर) सो क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गर्दछु’, सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सो कुरा व्यक्त गरेका हुन् ।

 

उनले फेरि भने, ‘वामदेवजीभन्दा खजुरा क्षेत्रको म पुरानो अभियन्ता हुँ भने सहमतिमा हिम्मत र विमतिमा विवेक प्रयोग गर्ने सडकको म पार्टीविहीन माओवादी पनि हुँ ।’

 

नन्दलाललाई अपमानित नगर्न चुनौती दिंदै उनले भने, ‘यो क्षेत्रलाई कसैले अपमानित नगरोस्, म संसदीइ कम्युनिज्ममा विश्वास राख्दिनँ, तर संसद्को रमिता र तमासा हेरेर बस्दिनँ ।’

 

यस निर्वाचन क्षेत्रमा यदि वामदेव गौतमले चुनाव लडे पिटरले उम्मेदवारी दिने, गौतमलाई जित्न मुस्किल हुने स्थानीयले अनुमान लगाएका छन् । 

प्रतिक्रिया दिनुहोस्