समृद्ध मुलुक बनाउन हरेक नागरिक शिक्षित हुनुपर्छ : नेता भण्डारी



तनहुँ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले समृद्ध मुलुक निर्माणका लागि हरेक नागरिक शिक्षित हुनुपर्नेमा जोड दिएका छन् ।

तनहुँको व्यास नगरपालिका-१२ कमलाबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयको ५१ औँ वार्षिकोत्सवको उदघाटन गर्दै उनले नेपालका धेरै जसो सामुदायिक विद्यालयको अवस्था दयनीय रहेकाले सामुदायिक विद्यालयको अवस्था सुधार गर्न सामूहिक अठोट र प्रयास आवश्यक रहेको छ भने ।

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सरोकारवाला लाग्नुपर्नेमा उनले जोड दिए । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्न नगरपालिकाले प्रयास थालेको बताए ।

नगरप्रमुख न्यौपानेले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन बस सेवा सञ्चालन गर्न लागिएको बताए । सो अवसरमा प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । रासस

प्रतिक्रिया दिनुहोस्