हिमाल, पहाड एवं तराईका खाद्य पदार्थको मेला शुरू



जनकपुरधाम : परम्परागत, पोषिला एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि यहाँ खाद्य मेला २०७६ शुरू भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जनकपुरधाम उपमहानगरपालिका र जनकपुरधाम उद्योग वाणिज्य संघद्वारा आयोजित सो मेलामा ६५ कक्ष रहेको छ ।

मेलामा स्थानीयस्तरमा अल्प प्रचलनमा रहेका खाद्य पदार्थ तथा पोष्टिक आहार, विभिन्न जातजातिसँग सम्बन्धित परम्परागत पोषिलो आहार, मैथिल तथा थारू संस्कृति झलकाउने खानपान एवं सांस्कृतिक पहिरन, खाद्य प्रशोधनसँग सम्बन्धित आवश्यक उपकरण तथा मेसिनरी सप्पालायर्सको प्रदर्शनी र खानेबानीमा परिवर्तनका लागि परम्परागत स्वच्छ तथा पोषिला पदार्थ जानकारी गराउने कक्ष रहेको छ ।

प्रदेश नं.२ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले मेलाको उदघाटन गर्दै प्रदेश नंं.२ को सांस्कृतिक, धार्मिक र कृषिको विकास सन्दर्भमा मेला उपयोगी सिद्ध हुने धारणा राखे । हिमाल, पहाड र तराईका खाद्यका उत्पादनको प्रदर्शनी रहेको मेलाबाट आमउपभोक्तामा परम्परागत खाद्य पदार्थप्रति आकर्षण वृद्धिसँगै परम्परागत खाद्य पदार्थप्रति जागरूक हुने अवसर प्राप्त हुने विश्वास उनले व्यक्त गरे ।

सो अवसरमा कार्यालयका वीरेन्द्र खनाल, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार साह, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारी, नेपाल पत्रकार महासंघ प्रदेश नं.२ का उपाध्यक्ष केसी लामिछानेले उपभोक्तामैत्री बजार र व्यवसायको विविधिकरण सन्दर्भमा मेला कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । मेला फागुन १२ गतेसम्म चल्ने छ । रासस

प्रतिक्रिया दिनुहोस्