नेपालका बिमानस्थल: रनवेमा खेल, टर्मिनलमा शौच



काठमाडौँ :  देशभरका ४४ आन्तरिक विमानस्थलमध्ये १७ वटामा मात्र नियमित उडान भइरहेको छ । सातवटामा आंशिक उडान हुन्छ भने बाँकी २० पूर्ण रूपमा बन्द छन् । सरकारी स्वामित्वको वायुसेवा निगमले दुर्गममा फाट्टफुट्ट उडान गर्दै आएको छ । फाइदा नहुने जिल्लामा निजी वायुसेवा कम्पनी सेवा दिन मान्दैनन् ।  कर्णाली प्रदेशमा ९ विमानस्थल छन् । तिनमा सुर्खेतबाट मात्र दैनिक करिब दुई दर्जन उडान हुन्छन् । तर पूर्वाधार अभाव र व्यवस्थापन कमजोरीले विमानस्थलबाट भरपर्दो सेवा प्रवाह भइरहेको छैन ।

कुनै बेला सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा रहेका ७ वटै विमानस्थल सञ्चालनमा थिए । अहिले बाजुराको कोल्टी र अछामको साँफेबगरबाहेक सबै बन्द छन् । प्रदेश १ र ४ का पहाडी र हिमाली क्षेत्रका विमानस्थलको उस्तै दुरवस्था छ ।२०२३ सालमा बनेको सुर्खेत विमानस्थल कर्णाली प्रदेशका पहाडी तथा हिमाली जिल्लाको ‘एयर बेस’ (आधार एयरपोर्ट) हो । उतिबेलै ४२ सिटभन्दा ठूला जहाज अवतरण गर्थे । राप्रपा नेता मुकुन्दश्याम गिरीका अनुसार २०२८ सालमा मध्यपश्चिम क्षेत्रमा भोकमरी हुँदा सेनाको हर्कुलस विमानले काठमाडौंबाट खाद्यान्न ओसारेको थियो । वायुसेवा निगमको विमानले दैनिक सुर्खेत–काठमाडौं तीनउडानसम्म गर्थ्याे ।

२०४६ पछि काठमाडौं–सुर्खेत हवाई सेवा बन्द भयो । सुर्खेतीले निकै पहल गरे पनि धावनमार्ग सानो भएकाले ठूला जहाज अवतरण गर्न नसकिने भन्दै निजी कम्पनी आउन मानेनन् । नागरिक उड्डयन प्राधिकरणले दुई सय मिटर बढाएर १ हजार ६ सय मिटर पुर्‍यायो । तैपनि धावनमार्ग सानो भएको भन्दै ठूला जहाज आएनन् । पाँच वर्षअघि बुद्ध र सीताले १९ सिटे विमानबाट काठमाडौं–सुर्खेत उडान सुरु गरे पनि ‘यात्रु नपाएको’ भन्दै केही समयमै बन्द गरे ।

वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी घोषणा भएपछि बुद्ध एयरले चैत २९ गतेदेखि ४७ सिटे जहाजबाट दैनिक सुर्खेत–काठमाडौं उडान सुरु गरेको छ । अहिले बुद्धको विमानलाई यात्रुको चाप थेग्न हम्मे छ । सुर्खेत विमानस्थल प्रमुख विनोद पन्त भन्छन्, ‘एयरपोर्ट सानो भयो भन्ने बहाना मात्र हो ।’ पाँच महिनाअघि काठमाडौं–सुर्खेत परीक्षण उडान गरेको नेपाल एयरलाइन्सले यात्रु नपाएको भन्दै अर्को उडान गरेको छैन । सुर्खेतबाट दैनिक करिब दुई दर्जन उडान हुन्छन् । यीमध्ये अधिकांशले कार्गो मात्र बोक्छन् ।

गत असोज ७ गते रुकुमपश्चिमको सल्ले विमानस्थलमा समिट एयरको विमान अवतरण गरेर नेपालगन्ज उड्यो । घरको छतबाट लडेका एक बालकलाई उपचारका लागि नेपालगन्ज लैजान अभिभावकले २ लाख २५ हजार रूपैयाँमा विमान चार्टर गरेका थिए । रुकुमपश्चिममा सल्ले र चौरजहारी गरी दुई विमानस्थल छन् । यी दुवै विमानस्थलमा यात्रुको चाप अधिक छ । उडान भने नेपाल एयरलाइन्सले सातामा दुईपटक मात्र गर्छ । आपतकालीन अवस्थामा कसैको उद्धार गर्नुपरे निजी कम्पनीका जहाज चार्टर गर्नुको विकल्प छैन । ‘सरकारी जहाजले नियमित उडान भर्दैनन्, त्यसैले आपतविपत पर्दा महँगोमा निजी जहाज चार्टर गर्नुपर्छ,’ स्थानीय हरिविष्णुओलीले भने ।

ओलीले मंसिर २५ गते २ लाख २५ हजार रुपैयाँमा तारा एयरको जहाज चार्टर गरेर बिरामी श्रीमतीलाई नेपालगन्ज लगेका थिए । असोज ७ गते जिल्ला समन्वय समितिले निजी कम्पनीका विमान उडाउने व्यवस्था गर्न माग गरेको थियो । समन्वय समितिका सदस्य धनवीर ओलीले निजी सेवाका जहाजले उडान सुरु गरेको खण्डमा महँगो भाडा तिरेर चार्टर गर्नुपर्ने अवस्था अन्त्य हुने बताए । पाँच वर्षअघि सफलतापूर्वक परीक्षण उडान भएको डोल्पाको मसिनेचौरमा फेरि जहाज फर्केर गएको छैन । ‘यात्रु र कार्गो सामान नपाइएको भन्दै जहाज जानै मान्दैनन्,’ पन्त भन्छन्, ‘यसले गर्दा करोडौं रुपैयाँ खर्चेर बनाइएको एयरपोर्ट बेकामे भएको छ ।’

२०७३ माघ २९ गते तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीले तारा एयरको जहाज लिएर कालिकोटको कोटबाडास्थित सुनथराली विमानस्थलमा परीक्षण उडान गरे । शाहीले विमानस्थलमै घोषणा गरे– अब यहाँ नियमित जहाज आउने गरी प्रक्रिया तीव्र पारिनेछ । परीक्षण उडान भइसकेको सुनथराली विमानस्थलको अवस्था जहाँको तहीँ छ । टर्मिनल टावर, खानेपानी, बिजुली, सुरक्षा र धावनमार्ग सुधारको काम नहुँदा उडान हुन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको कान्तिपुरमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्