क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्नुपर्छ : गृहमन्त्री थापा



चितवन : गृहमन्त्री रामबहादुर थापा बादलले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।

अस्पतालको आज निरीक्षणपछि प्रतिक्रिया दिँदै उनले यस अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्नुपर्ने बताए । अस्पताललाई थप अत्याधुनिक बनाएर देशकै क्यान्सर रोग उपचारको प्रमुख केन्द्रका रुपमा विकास गर्नुपर्ने पनि बताए । उनले भने,‘सुखी नेपाली स्वस्थ नेपाली’ भन्ने सरकारको नारालाई यस अस्पतालले सार्थक बनाएको उहाँको भनाइ थियो ।

देशभर र छिमेकी देशबाटसमेत बिरामी उपचारका लागि आउने यस अस्पतालमा बिरामीले दुःख पाउन नहुने बताए । उनले स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति भएकाले यसमा सरकारको विशेष जोड रहेको पनि उल्लेख गरे ।

सो अवसरमा अस्पतालका नवनियुक्त अध्यक्ष डा.निर्मल लामिछाने, कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्य र कानून अधिकृत गोकर्ण सापकोटाले अस्पतालका विषयमा जानकारी गराएका थिए । ३ वर्षअघि सो अस्पताल अस्तव्यस्त बनेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरी निगरानीमा राखेको थियो ।

त्यसपछि कार्यकारी निर्देशकमा आचार्य नियुक्त भएसँगै अस्पतालले सुधारको बाटो लिएको हो । उनले आजै भरतपुर महानगरपालिका–१६ मा निर्माण भएको क्रुजको अवलोकन र परीक्षण यात्रा पनि गरे । रासस

प्रतिक्रिया दिनुहोस्