राष्ट्रपतिलाई स्वागत गर्न चार पालिकाले दिए सार्वजनिक बिदा



बैतडी : सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी बैतडी र दार्चुला आउने भएपछि त्यहाँका चार पालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।

बैतडीका पाटन नगरपालिका र दशरथ नगरपालिका तथा दार्जुलाका शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले विहीबारका लागि सबै कार्यालय र शैक्षिक संस्था बन्द गरेका छन् ।

आफ्ना गाँउ र नगरपालिका लागि सूचना जारी गर्दै राष्ट्रपतिको स्वागतमा भेला हुन आग्रह गरिएको छ । विद्यार्थीलाई अनिवार्य सहभागी हुन समेत गाउँपालिकाले निर्देशन दिएको छ ।

राष्ट्रपति भण्डारी हिजोबाट तीन दिने सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेकी छिन् । हिजो कैलालीको धनगढीमा राष्ट्रपति भण्डारीले विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गरेकी थिइन भने खाना महोत्सवको समेत उद्घाटन गरेकी थिइन ।

आज दार्चुलास्थित मालिकार्जुनको दर्शन, मालिकार्जुन माविको निरीक्षण, बैतडीको त्रिपुरा सुन्दरी भगवतीको दर्शन, बैतडीको पाटनमा रहेको प्राविधिक शिक्षालयको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै १६ गते डडेल्धुरास्थित उग्रतारा मन्दिरको दर्शन र कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्