श्वासप्रश्वास पुन : स्थापना केन्द्र संचालन गर्न जापानसंँग थप सम्झौता



काठमाडौं : भक्तपुर नगरपालिकाले संचालन गर्न लागेको श्वासप्रश्वास पुन : स्थापना केन्द्रको निर्माण एवं संचालनका लागि जापानी दूतावास, जापानको एक संस्था र नगरपालिकाबीच त्रिपक्षीय सम्झौता भएको छ ।

दीर्घरोगका रुपमा रहेको दमखोकी रोगका बिरामीहरुको उपचारका लागि जापान अन्तर्राष्ट्रिय चिकित्सा प्रविधि संस्था (जिम्टेफ) को प्राविधिक तथा आर्थिक सहयोगमा भक्तपुर नगरपालिका-९ तुमचोमा निर्माणाधीन श्वासप्रश्वास पुन : स्थापना केन्द्रको दोस्रो चरणको सम्झौता सम्पन्न भएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

जापानी दुतावासमा आयोजित एक समारोहबीच सम्पन्न भएको उक्त सम्झौतामा केन्द्रको भवन निर्माण तथा चिकित्सा उपकरण खरिदपश्चात नेपाली चिकित्सकहरुलाई उपचारसम्बन्धी तालीम दिने तथा जापानी विज्ञहरुको उपस्थितिमा उपचार गराउनेबारे सम्झौता भएको हो ।

समारोहमा नेपालका लागि जापानी राजदूत सामिची साइगोले जापानका वरिष्ठ सरकारी चिकित्सकहरुको संस्था जिम्टेफको सहयोगमा भक्तपुर नगरपालिकाले स्थानीय जनताको सहभागिता र उपभोक्ता समितिमार्फत केन्द्रको भवन निर्माण गरेकामा खुशी व्यक्त गरे । उनले २ देशका जनताबीचको सम्बन्धलाई थप सुमधुर पार्न केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

बढ्दो शहरी विकाससँगै वायु प्रदूषण बढेको कारणले जनताहरुमा श्वासप्रश्वास सम्बन्धी रोगहरु देखा परेको चर्चा गर्दै उनले दीर्घ रोगीहरुलाई जापानी प्रविधिबाट उपचार गराउन नेपालमै पहिलो पटक भक्तपुरमा केन्द्र स्थापना गर्न खोजेको भने ।

जिम्टेफका नेपाल प्रतिनिधि मायदा नोरिकोले भक्तपुरमा श्वासप्रश्वास पुन : स्थापन केन्द्र संचालनको ३ वर्षे योजना अन्तर्गत पहिलो वर्षको भवन निर्माण र उपकरण खरिद प्रक्रिया सम्पन्न भएको र दोस्रो वर्षमा नेपाली चिकित्सकहरुलाई यस उपचार विधिबारे तालीम संचालन गरी बिरामीको उपचार शुरु गर्ने तयारी भइरहेको बताए ।

भक्तपुर नगरपालिका-९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नगरपालिकाले आफ्नै जग्गामा नियमानुसार नक्सापास गरी स्थानीय जनताको सहभागितामा उपभोक्ता समितिमार्फत केन्द्रको भवन निर्माण गर्दा लागत अनुमान भन्दा कम खर्चमा गुणस्तरीय भवन निर्माण सम्पन्न भएको बताए ।

सम्झौता कार्यक्रममा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ डा.एवं सोलिड नेपालका कार्यकारी निर्देशक डा.खेमबहादुर कार्कीले भक्तपुरमा स्थापित श्वासप्रश्वास केन्द्रलाई उत्कृष्टताको नमूना परियोजना बनाउने र यसैलाई केन्द्र बनाई देशका अन्य नगरपालिकाका चिकित्सकहरुलाई पनि तालीम संचालन गर्ने तयार भइरहेको जानकारी दिए ।

जिम्टेफले भक्तपुर नगरपालिकालाई केन्द्रको भवन निर्माणका लागि नि : शर्त १ करोड ७० लाख आर्थिक सहयोग प्रदान गरेको र नगरपालिकाले आप्mनै ५ आना ३ पैसा ३ दाम क्षेत्रफलको जग्गामा उपभोक्ता समितिमार्फत भवन निर्माण कार्य सम्पन्न गरेको छ ।

केन्द्रमा दीर्घ दम र खोकी रोगका बिरामीहरुलाई फिजियोथेरापी विधिबाट उपचार सेवा प्रदान गरिने र त्यसका लागि आवश्यक चिकित्सकीय उपकरणहरु जडान गर्ने कार्य भइरहेको छ । आगामी चैत्र ३ गतेबाट सर्वसाधारण बिरामीहरुलाई कम शुल्कमा उपचार सेवा शुरु गरिने भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्