हात्तीको बथानले गहुँबालीमा क्षति



कञ्चनपुर : जङ्गली हात्तीको बथानले एकै रात कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-५ मा ९ बिघाभन्दा बढी जग्गामा लगाएको गहुँबालीमा क्षति पुर्याएको छ ।

गएराति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खजुवा, गर्जमुनिलगायतको बस्तीमा छिरेको हात्तीको बथानले गहुँबालीमा क्षति पुर्याएको हो । स्थानीयवासी देवराज जोशीले हात्तीको बथानले बाला लागेको गहुँबाली खाएर र खुट्टाले कुल्चेर व्यापक नोक्सान पुर्याएको बताए ।

“धेरै किसानको गहुँबालीमा क्षति गरेको छ”, उनले भने,“खेतको गहुँ पुरै नष्ट भएपछि परिवारका लागि वाह्य क्षेत्रबाट गहुँ खरिद गर्नुपर्ने अवस्था आएको छ ।” हात्तीले गहुँबाली क्षति पुर्याएको किसानको खेतमा अनुगमन गर्दै नगर प्रमुख दिलबहादुर ऐरले ३६ किसान भन्दा बढीको ८ देखि ९ बिघा जग्गामा लगाइएको गहुँबालीमा हात्तीको बथानले क्षति पुर्याएको बताए ।

किसानको गहुँबालीसँगै तोरी, केरालगायतमा समेत क्षति गरेको पाइएको छ, उनले भने । उनले हात्ती नियन्त्रणका लागि नगरपालिकाको एक्लो प्रयासले नसकिने भएकाले यसमा संघीय सरकार र प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।

उनले भने,“विसं २०७४ सालदेखि हात्तीको बथानले निकुञ्जको मध्यवर्ती क्षेत्रका बासिन्दाको अन्नबाली खाएर नोक्सानी गर्दै आएको छ, ३ वर्षको अबधिमा ९५० परिवारले क्षति व्यहोरेका छन् ।” हात्तीका कारण नगरपालिकाका वडा नं.१, २, ३, ४, ५, ६, ७, ८ र १२ का बासिन्दा प्रभावित हुँदै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्