सरकारसँग राजपा रुष्ट, समर्थन फिर्ता लिने तयारी



काठमाडौं: राष्ट्रिय जनता पार्टी नेपालले आफूसँग गरेको सहमति कार्यान्वयन गर्न आलटाल गरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । अध्यक्षमण्डलका नयाँ संयोजक महेन्द्र राय यादवले पार्टी कार्यालय बबरमहलमा पदभार सम्हालेपछि भएको अध्यक्षमण्डलका सदस्यहरूको अनौपचारिक बैठक सरकारलाई दिएको समर्थन फिर्ता लिने निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्री केपी ओली आइतबार विश्व आर्थिक मञ्चको ८–११ माघसम्म हुने वार्षिक बैठकमा सहभागी हुन स्विट्जरल्यान्डको डाभोस सहर जाने भएकाले त्यहाँबाट फर्केपछि उनलाई जानकारी गराएर सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाको तयारी छ । समर्थन फिर्ता लिने औपचारिक निर्णय नयाँ अध्यक्षमण्डलका संयोजक यादवको अध्यक्षतामा बस्ने पहिलो बैठकले गर्नेछ । 

महन्थ ठाकुर उपचारका लागि दिल्ली प्रस्थान

नाकबाट पटक–पटक रगत बग्ने समस्या देखिएपछि राजपा अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर उपचारका लागि आइतबार दिल्ली प्रस्थान गरेका छन् । यसअघि दिल्लीस्थित मेदान्त अस्पतालमा छाती र मुटुको उपचार गराइरहेका ठाकुरले यी रोगमा पनि फलो–अप उपचार गराउने राजपा सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लले जानकारी दिए । ‘ठाकुरजीको नाकबाट जाडो महिनामा पनि पटक–पटक रगत आयो । यहाँका डाक्टरलाई देखाउँदा सेवन गरिरहेको औषधिको असरले नाकबाट रगत आएको बताए । जसले उपचार गरेको हो, त्यही डाक्टरले हेर्ने भएकाले जानुभएको हो,’ शुक्लले भने, ‘त्यहाँ पुगेपछि उहाँले पुरानो रोगका बारेमा पनि फलो–अप उपचार गर्नुहुन्छ ।’ ठाकुर शुक्रबार साँझ नेपाल फर्केपछि अध्यक्षमण्डलको   बैठक बस्नेछ ।

अध्यक्षमण्डलको आगामी बैठकले निर्णय गर्ने

अध्यक्षमण्डलका निवर्तमान संयोजक राजेन्द्र महतोले सरकारले आफूहरूसँग गरेका सहमति कार्यान्वयन नगरेकाले समर्थन फिर्ता लिन लागिएको बताए । ‘केपी ओली नेतृत्वमा सरकार बन्नेवेला नेपाल कम्युनिस्ट पार्टीले हामीसँग तीन विषयमा सहमति गरेपछि हामीले उहाँलाई समर्थन गरेका थियौँ,’ महतोले नयाँ पत्रिकासँग भने, ‘सरकारले ११ महिनासम्म कैलाली–१ बाट निर्वाचित रेशम चौधरीलाई शपथ गराउनेबाहेक अन्य सहमतिका बुँदा कार्यान्वयनको प्रक्रियासमेत सुरु नगरेकाले प्रधानमन्त्री डाभोसबाट फर्केपछि जानकारी गराएर अध्यक्षमण्डलको बैठक बसी समर्थन फिर्ता लिन्छौँ ।’

राजपासँग सरकारले संविधान संशोधन गरी मधेसका मुद्दा समावेश गर्ने, मधेस आन्दोलनका क्रममा पक्राउ गरी मुद्दा लगाइएका पार्टी कार्याकर्तालाई विनासर्त रिहाइ गर्ने र सांसद रेशम चौधरीलाई शपथ गराउने सहमति गरेको थियो । यी तीन बुँदामध्ये दुईपटक समर्थन फिर्ता लिने लिखित चेतावनीपछि सरकारको दबाबमा सभामुख कृष्णबहादुर महराले सांसद चौधरीलाई १९ पुसमा पद तथा गोपनीयताको शपथ गराएका थिए । राजपाले पहिलोपटक दसैँअगाडि र दोस्रोपटक १० पुसमा सरकारलाई दिएको समर्थन फिर्ता लिने लिखित चेतावनी दिएको नयाँपत्रिकामा खवर छ । 

प्रतिक्रिया दिनुहोस्