आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि ध्यानाकर्षण



बुटवल : प्रदेश नं ५ का प्रदेशसभाका सदस्यले गर्मी शुरु भएसँगै आगलागीका घटना बढ्ने भएकाले समयमै सावधानी अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज बसेको प्रदेशसभाको बैठकको विशेष समयमा सदस्यहरूले आगलागीबाट हुने क्षति न्यूनीकरणका लागि समयमै सचेतना अपनाउन आग्रह गरे । बैठकमा प्रदेशसभा सदस्य खड्कबहादुर खत्रीले यो वर्ष पनि आगलागीका घटना शुरु भएकाले समयमै जनधनको नोक्सानी र वनमा लाग्ने डढेलो नियन्त्रणको व्यवस्था गर्न आग्रह गरे ।

उनले सरकारसँग गुल्मीको ईश्मामा भएको आगलागीका घटनाका पीडितलाई राहतको व्यवस्था गर्न माग गरे । अर्का सदस्य भुवनेश्वर चौधरीले गर्मीमा आगलागी र वर्षायाममा बाढी पहिरोका कारण हुने जनधनको क्षति रोक्न सरकारले समयमै सचेतना अपनाउनुपर्ने धारणा राखे ।

बैठकमा प्रदेशसभाका अन्य सदस्य माला गोतामे सुनार, दीर्घनारायण पाण्डे, कमला विक, दिपा विकलगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले ‘वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।

विधेयकमाथि आफ्ना धारणा राख्दै प्रदेशसभा सदस्य कल्पना पाण्डे, सुरेन्द्रबहादुर हमाल र भोजप्रसाद श्रेष्ठले वातावरणको संरक्षण, जैविक विविधता र नदी नाला संरक्षणका लागि विधेयक महत्वपूर्ण रहेको धारणा राखे । रासस

प्रतिक्रिया दिनुहोस्