राज्यविहीन रोहिंग्याको स्वदेश फर्कने चाहना



काठमाडौंः रफिक आलम । जो चार वर्र्षअघि म्यानमारबाट लखेटिए । त्यसपछि बंगलादेश र भारतहुँदै नेपाल आइपुगे । म्यानमार सरकारको चरम दमन, शोषण र अत्याचार खप्न नसकेपछि उनी देशबाटै लखेटिए । 

सरकारले जहाँ भेट्यो त्यहीं गोली हान्ने खतरा बढेपछि उनी देश छाडेर भागेका हुन् । देश छाडेर त भागे, तर कहाँ जाने ? उनीसँग कुनै ठोस विकल्प थिएन । यद्यपि, सीमा क्षेत्र भएकाले उनी बंगलादेश आए । बंगलादेशमा पनि बस्नसक्ने स्थिति नभएपछि भारत आइपुगे । भारतमा उनका लागि झनै सहज स्थिति थिएन । अतिहेपिएर बस्न नसकेपछि उनी नेपालतिर लागे । पाँच दिन भोकभोकै हिँडेर उनी विराटनगर आइपुगे । 

रफिक आलमका तीन दिदीहरु अहिले पनि कहाँ छन् ? थाहा छैन । म्यानरमार सरकारले मार्यो वा रफिकजस्तै कुनै देशमा शरण लिएर बसेका छन् ? उनकी आमा अहिले बंगलादेशको एउटा शरणार्थी शिविरमा भएको थाहा भएको छ ।

विराटनगर आइपुग्दासम्म उनलाई ‘नेपाल भन्ने देश छ’ भन्ने थाहा नै थिएन । उनीहरुलाई त नेपाल भनेको भारतकै एउटा प्रान्तजस्तो मात्रै लाग्दो रहेछ । अन्धाधुन्ध हिँड्दै विराटनगर आइपुगेपछि मात्रै उनलाई नेपाल एउटा बेग्लै स्वतन्त्र देश भन्ने थाहा भयो ।

रफिक आलम त एक प्रतिनिधि पात्र मात्रै हुन् । अहिले करिब ६ सय रोहिंगा शरणार्थी नेपालमा बसिरहेका छन् । यसको आधिकारिक तथ्यांक त नेपाल सरकारसँग पनि छैन । यद्यपि, कपनस्थित राममन्दिर आपपासमा तीन वटा टहरो बनाएर तीन सय ४५ रोहिंगा शरणार्थी बसिरहेका छन् । उनीहरुलाई नेपाल सरकारले अझैसम्म शरणार्थीको दर्जा दिएको छैन । तर, उनीहरुलाई अरु देश प्रवेश गर्न भन्दा नेपाल सहज छ । प्रवेश मात्रै होइन, नेपालमा बस्न पनि उनीहरुलाई सजिलो छ । एक हिसाबमा रोहिंगा शरणार्थीका लागि नेपाल स्वर्ग नै हो । यहाँ पुलिसले सताउँदैन । 

उनीहरुको दैनिकी सहज भने छैन । यहाँ पनि गैरनागरिक भएर बसिरहेका छन् । आफ्नो देशबाट लखेटिएर अरुको देशमा अनागरिक भएर बस्नुको पीडा छ, उनीहरु भित्र । उनीहरुको बसाई गतिलो छैन । टिनको छानोमुनि अतिकष्टसँग उनीहरुले दिनरात गुजारिरहेका छन् । उनीहरु विभिन्न श्रमयुक्त काम गरिरहेका छन् । र परिवार पालिरहेका छन् । उनीहरुलाई नेपालमा पनि काम पाउन सजिलो भने छैन । काम पाए पनि मालिकहरुबाट गरिने व्यवहार सम्मानजनक छैन । उनीहरुसँग पीडा छ । गुनासो छ । अनि आफ्नै सरकारप्रति आक्रोश पनि ।

अल्पसंख्यक भएकै कारण आफ्नै देशबाट लखेटिनु पर्दाको पीडा अनि जुन देशमा शरण लिन गयो, त्यहीं देशमा समस्या । कुनै सरकार सम्प्रदायका नाममा नागरिकप्रति कति निर्मम हुनसक्छ ? भन्ने एउटा उदाहरण हो, म्यानमार सरकार र त्यहाँका रोहिंगा सम्प्रदाय । 

 

को हुन् रोहिंगा ?

रोहिंगा म्यानमारको मुस्लिम समुदायका अल्पसंख्यक हुन् । तत्कालिन बेलायती उपनिवेश सरकारले सन् १८२४मा पश्चिम म्यानमारमा ल्याएर उनीहरुलाई राखेको थियो । बौद्ध धर्मावलम्बीको बहुलता रहेको म्यानमारमा उनीहरुलाई कृषि मजदुरका रुपमा ल्याइएको थियो । 

बाहिरबाट ल्याएर राखेकै कारण सुरुदेखि नै उनीहरुले दमन र शोषणको सामना गर्नुपर्यो । दोस्रो विश्वयुद्धपछि म्यानमार बेलायती उपनिवेशवाट स्वतन्त्र भयो । त्यसपछि पनि रोहिंगाहरु त्यहीं बसे । र, क्रमशः मुस्लिम समुदायका रोहिंगा र म्यानमारका बौद्ध धर्मावलम्बीबीच द्वन्द्व सुरु भयो । 

दोस्रो विश्वयुद्धअघि म्यानमार पुगेकालाई अंगीकृत नागरिकता दिइयो । पछि पुगेकाहरुलाई नागरिकता समेत दिएन । नागरिकता मात्रै होइन, रोहिंगालाई तेस्रो दर्जाका मान्छेको व्यवहार हुन्थ्यो । मुस्लिमविरोधी कानून बनाएर मान्न बाध्य पारिन्थ्यो । पछि सन् १९८२ मा त रोहिंगालाई दिइएको अंगीकृत नागरिकता पनि खोसियो ।

रोहिंगालाई जबरजस्त लखेट्ने नीति ल्याइयो । सन् १९९६ पछि बौद्ध धर्मवाला र मुस्लिम धर्मवाला राहिंगाबीचको द्वन्द्व झन् चर्कियो । द्वन्द्व चर्कदैँ गयो । म्यानमारले रोहिंगालाई नागरिक नै मानेन । सन् २०१४ गरिएको जनगणनामा समेत उनीहरुलाई सामेल गरिएन । पछि हरेक अपराधकको कारण देखाउँदै म्यानमार सरकारले धमाधम रोहिंगालाई मार्न थाल्यो । 

अतिअत्याचार भएपछि रोहिंगाले पनि विद्रोह सुरु गरे । तर, म्यानमार सरकार र बौद्ध धर्मवालम्बीसँग उनीहरुको केही सीप लागेन । बसेको बस्तीमा बम खस्न थालेपछि, बस्तीमै आगो लाग्न थालेपछि, जहाँ भेट्यो त्यहीं गोली हान्न थालेपछि कसरी बस्न सक्नु देशमा ? न काम, न आम्दानी । कसैगरी पनि टिक्न नसक्ने भएपछि उनीहरु भारत, बंगलादेश, थाइल्याण्डलगायत देशसँगै नेपालमा पनि शरण खोज्न आइपुगेका हुन् । 

तथ्यांकअनुसार अझै म्यानमारमा करिब १० लाख रोहिंगाको बसोबास छ । र, उनीहरुलाई राज्यले उसैगरी दमन गरिरहेको छ । उनीहरु नेपालमा शरण लिन त आएका छन्, तर नेपालको नीतिले उनीहरुलाई शरणार्थी मानेको छैन । । र, उनीहरु ‘नेपाल सरकारले नै नागरिकको मान्यता दिए हुन्थ्यो, वा आफ्नै देश फर्कन पाए हुन्थ्यो’ भन्ने चाहिरहेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्